मेचीनगरमा अपाङ्गता भएका व्यक्तिहरूको लागि रातो कार्ड वितरण
सोमबार, पुस १५, २०८१
मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीकी मीना पाहानले २६ वर्षको उमेरमा अपाङ्गतासम्बन्धी रातो परिचयपत्र पाइन् । जन्मेको छ महिनामा दुवै खुट्टा लुलो भएकी उनको कम्मरमुनिको भाग चल्दैन ।
अपाङ्गता भएका व्यक्तिको परिचयपत्र सरकारले वितरण गर्छ भन्ने जानकारी नहुँदा यतिका वर्षसम्म परिचयपत्र पाउनबाट वञ्चित हुनु परेको उनले बताइन्। ज्यामिरगढी स्वास्थ्य चौकीमा नगरपालिकाले आज आयोजना गरेको स्वास्थ्य शिविरमा उनले उक्त प्रमाणपत्र पाइन् ।
“ह्विलचेयर बिना एक पाइला पनि हिँड्डुल गर्न सक्दिन”, पाहानले भनिन्, “अबदेखि मासिक भत्ता पनि दिने भन्नुभएको छ ।” नगरपालिकाले शिविरमै उनी र उनको परिवारका सदस्यहरूको निःशुल्क स्वास्थ्य बिमासमेत गरिदिएको मेचीनगरकी महिला, बालबालिका तथा समाज कल्याण शाखाप्रमुख जयन्ती खरेलले जानकारी दिइन् ।
साताको लोकप्रिय