Harsamaya
महोत्तरीको मझौरा गाउँ शौचालयविहीन
महोत्तरीको मटिहानी नगरपालिकाको वडा नम्बर ४ स्थित मझौरा गाउँ ।
जलेश्वर - महोत्तरीको मटिहानी नगरपालिकाको वडा नम्बर ४ स्थित मझौरा गाउँको ‘मुसहर’ बस्ती शौचालयविहीन रहेको पाइएको छ । यस बस्तीका दलित मुसहर परिवारहरू शौचका लागि खुला स्थान प्रयोग गर्दै आएका छन् ।
 
स्थानीय बयोवृद्ध ५५ वर्षीय सेवक सदाका अनुसार ७५ घर परिवार रहेको मुसहर बस्तीको कुनै पनि घरमा शौचालय रहेको छैन । यहाँका सबैजना खुला स्थानमै शौच गर्दै आएका छन् । यही बस्तीका २२ वर्षीय शोभेन्द्र सदाका अनुसार वृद्धवृद्धा, वयस्क महिला, पुरूष तथा बालबालिका सबै गरेर तीन सय ७० जनाको जनसङ्ख्या रहेको छ । यहाँ बसोबास गर्ने सबै जना सधैँदेखि गाउँको खेतबारी र बाटोको छेउछाउमै दिशा पिसाब गर्दै आएका छन् र अहिले पनि त्यही स्थानमा गएर शौच गर्दै आएका छन् ।
 
बस्तीकै ५० वर्षीय शंकर सदाले आफूहरूसँग शौचालय बनाउने कुनै उपाय (आर्थिक अवस्था) नरहेको कारण बाबु, बाजे पालादेखि नै सपपरिवार खुलामै शौच गर्दै आएको बताए । स्थानीय ६० वर्षीया महिला बासो सदाले आफूहरू सधैँ गाँस, बाँस र कपासकै अभाव रहने गरेकाले शौचालय निर्माण गर्नु धेरै ठूलो कुरा भएको बताए । यस बस्तीका बासिन्दाले दुई छाक राम्ररी खान नपाएको अवस्थामा कहाँबाट शौचालय निर्माण गर्नु उनले प्रतिप्रश्न गरिन् । 
 
सोही ठाउँकी अर्की महिला ४५ वर्षीया रानी सदाले बस्ने घरकै लागि पर्याप्त ठाउँ नरहेको अवस्थामा शौचालय कहाँ निर्माण गर्नु र गर्न चाहे पनि आफूहरूसँग आर्थिक सामर्थ्य नरहेको भन्दै शौचालय निर्माण गर्न नसकेको बताइन् । 
 
शौचालयको अभाव भोगिरहेको त्यस बस्तीकी स्थानीय ६० वर्षीया महिला सुनैना देवी सदाले अरूको खेतबारीमा गएर शौच गर्दा गाली गर्ने, कुटपिट गर्ने, सर्प, बिच्छु र अन्य जनावरको डर हुने गरेको दुखेसो गरिन् । उनका अनुसार ठूला पुरूष र महिलाले त ठाउँ र समय हेरेर लुकेर कुनै स्थानमा शौच गरिहाल्छन् तर ससाना बालबालिका दिनभरि अरूकै खेतबारी र बाटोघाटौमै शौच गरिदिँदा अरूहरूले गाली गर्ने, लखेट्ने र कुनैकुनै बेला पिटाई खानुपर्ने हुन्छ । 
 
खर, पात, बाँस र बेतबाट बनाइएको घरबारभित्र जाडोले कठ्याङ्ग्रिँदै बसिरहेका मुसहर बस्तीमा अन्न, लुगाफाटो र रोजगारीको चरम अभाव देखिएको छ भने शिक्षा र स्वास्थ्यजस्ता कुराले त उनीहरूलाई टाढाटाढासम्म छोएको देखिँदैन ।
 
चारैतिरै सबै कुराको अभावै अभाव र जोखिमपूर्ण जीवन बाँचिरहेका मुसहरहरूको आफू बस्ने घरबाहेक अरू जग्गा जमिन नरहेको, खेतबारी नरहेको र सो स्थानमा सार्वजनिक जग्गासमेत नरहेको कारण उनीहरूका लागि सार्वजनिक शौचालय समेत निर्माण गर्न नसकिएको वडा अध्यक्ष अब्दुल गफार राईनले बताए ।
वडाध्यक्ष राईनका अनुसार त्यस बस्तीका ७५ घर परिवारमध्ये सबै जनाको एक नासको बस्ने जग्गा समेत छैन । कसैको दुई धुर, कसैको चार धुर र कसैको एक धुर नै जग्गा रहेको कारण त्यस बस्तीमा कुनै विकासको कार्यक्रम सञ्चालन गर्न सकिएको छैन ।
 
वडाध्यक्ष राईनले शिक्षा, स्वास्थ्य र रोजगारीको सूचकांकमा मटिहानी नगरपालिकामै सबैभन्दा पछाडि रहेको वडा नम्बर ४ मझौरास्थित यस बस्तीमा व्यक्तिगत जग्गाको समस्या रहनुको साथै शौचालयको निर्माण गर्न सार्वजनिक स्थानको पनि अभाव मुख्य समस्या रहेको बताए । 
 
यता देश नै खुला दिसामुक्त घोषणा भइसकेको अवस्थामा धार्मिक एवं सांस्कृतिक नगरी मटिहानीको मझौरा गाउँको मुसहर बस्ती शौचालयविहीन हुनु र त्यहाँका नागरिक अझै पनि खुला आकाशमुनि  नै शौच गरिरहेको कुरा आफैँमा लज्जास्पद एवं दुःखद् भएको सरसफाइविज्ञ उमाशंकर यादवले बताए । 
 
मटिहानी नगरपालिका देशकै सबैभन्दा पुरानो गुठी लक्ष्मीनारायण मठ भएको र ३५० वर्षभन्दा पनि पुरानो, बालागुरू षडानन्द पढेका याज्ञवल्क्य लक्ष्मी नारायण विद्यापीठ अझै सञ्चालनमा रहेको स्थान हो । 
 
प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update