काठमाडौं - चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा युवकलाई कुटपिट गर्ने प्रहरी निलम्बित भएका छन् ।
गणेशस्थान बिटमा कार्यरत असई बुद्धिबहादुर घर्ती भुजेललाई निलम्बन गरी थप कारबाही प्रक्रिया अघि बढाइएको हो। माथिको पावर देखाएको भन्दै चेकिङमा खटिएका प्रहरीले युवकलाई लात्तीले हानेर कुटपिट गरेको भिडियो आइतबार सार्वजनिक भएको थियो ।
लगत्तै प्रहरीले उनलाई कारबाहीका लागि छानबिन समिति गठन गरेको छ। प्रहरी आचरणविपरीत काम गरेकाले निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रले जानकारी दिए ।
गत पुस १५ गते उक्त घटना भएको देखिएको र पिटिएको व्यक्तिलाई खोज्ने काम भइरहेको चितवन प्रहरी प्रमुख मिश्रले बताए ।
के थियो घटना विवरण ?
आइतबारदेखि सामाजिक सञ्जालमा एक युवालाई प्रहरीले मरणासन्न हुनेगरी बुटैबुटले कुटेको भिडियो भाइरल भएको छ । भिडियोमा सडकमा मोटरसाइकल रोकेर केही युवाहरूसँग कुरा गर्दै गरेको अवस्थामा एक प्रहरीले सडक किनारमा उभिएका युवालाई लात्ताले हानेर पेटीमा लडाएर ‘कसलाई फोन गर्ने ? पावर देखाएको, कसलाई फोन गर्ने, फोन गर’ भन्दै बुटै बुटले कुटिरहेका देखिन्छ ।
मध्यरातमा उनले ती युवालाई बुटले खुट्टामा, ढाडमा अनि टाउकोमा हानिरहेको भिडियोमा प्रस्ट देखिन्छ । मोटरसाइकलको कागजपत्र जाँच गरिरहेको प्रहरीले संयमता गुमाउँदै युवामाथि कुटपिट गरेको भिडियोमा देखिन्छ ।
नेपाल प्रहरी प्रधान कार्यालयको विज्ञप्ति: