काठमाडौं - बैंकहरुको कर्जा प्रवाहमा समस्या रहेको उपप्रधान एंव अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् ।
कृषि विकास बैंक लिमिटेडको ५८औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले बैकहरूको निक्षेपको अनुपात बढेपनि कर्जा प्रवाह हुन नसकेको बताएका हुन् ।
अर्थमन्त्री पौडेले कृषि उत्पादन, उत्पादकत्व र रोजगारी सिर्जनामा बैंकहरूले लगानी गर्नुपर्नेमा जोड दिए । उनले बैंकको व्यवस्थापन र कर्मचारीबीचको सम्बन्ध सुमधर हुन नसक्दा उद्देश्य हासिल हुन नसकेको बताए ।
उनले बैंकको क्षमता, सामर्थ्य र प्रतिष्ठा पहिलो प्राथमिकतामा राखी कार्यसूची बनाई अगाडि बढ्न सबै कर्मचारीहरूलाई आग्रह गरे । बैंक प्रभावकारी रूपमा अगाडि बढ्दा समग्र कर्मचारीकै प्रतिष्ठामा वृद्धि हुने उनले बताए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैकहरूमा अराजक प्रवृत्ति मौलाएको बताए । ऋण लिइसकेपछि तिर्दिन भन्ने परिपाटी विकास हुँदा अर्थतन्त्रमा केही समस्या देखिएको उनले भनाई छ ।यद्यपि यसका बाबजुद पनि समग्र मुलुकको अर्थतन्त्र सुधारउन्मुख रहेको उनको उल्लेख गरे । मुलुकको राजस्व, तरलतामा वृद्धि वित्तीय व्यवस्थापनमा सुधार भइरहेको गर्भनर अधिकारीले बताए ।
उक्त अवसरमा कार्यसम्पादनमा उत्कृष्ट रहेका कृषि बैंकका कर्मचारीहरूलाई सम्मान गरिएको थियो ।