रौतहटमा फरार ११ प्रतिवादी पक्राउ
रौतहट - भन्सार छलीको सामानसँगै ११ जना फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरूले पक्राउ गरेको छ।
जिल्ला अदालतबाट दोषी ठहर भएर दण्ड सजाय समेत तोकिएर लामो समय देखि फरार रहेका ११ जना प्रतिवादीलाई जिल्लाको विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो।
त्यस्तै भन्सार छलेर ल्याएको विभिन्न सामान प्रहरीले बरामद गरेको हो। पक्राउ पर्नेमा किर्ते मुद्दाका जमिला शेखिन, जमील अख्तर, शेख अजीज मियाँ दर्जी, ओली महमद, शेख हफिज रहेका छन्।
त्यस्तै कुटपिट मुद्दाका महेन्द्र महरा चमार, पुनकलिया देवी, मनिता कुमारी, निलम देवी, उषा देवी राम र बहुविवाह मुद्दाका आरोपी शेख नेपाली रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर रामकुमार महतो द्वारा सूचनामा उल्लेख गरिएको छ।
पक्राउ परेका सबै ११ जना लाई फैसला कार्यान्वयनको लागि सोमवार जिल्ला अदालत गौरमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।
उता जिल्ला सदरमुकाम गौर स्थित बसपार्कमा प्रहरीले विभिन्न सवारी चेकजाँचको क्रममा १ लाख ४ हजार बराबरको भन्सार छलीको सामान बरामद गरेको छ। भारतीय बजारबाट अवैध रूपमा भित्र्याएको उक्त मूल्य बराबरको कपडा, कस्मेटिक लगायत किराना सामान बरामद गरी आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ।
प्रकाशित मिति: सोमबार, माघ ७, २०८१ १४:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय