भोजपुर - ज्ञान, सीप र दक्षता अभिवृद्धि गरी कृषि प्रविधि हस्तान्तरणमा सहयोग पुर्याउने उद्देश्यले आमा समूहलाई निःशुल्क प्रशिक्षण सुरु गरिएको छ ।
भोजपुर नगरपालिका-५, बोखिमका आमा समूहलाई सामुदायिक कृषि सहायकसम्बन्धी प्रशिक्षण दिन थालिएको हो । सुम्निमा बहु प्राविधिक शिक्षालयको आयोजनामा वडा कार्यालय र पञ्चकन्या स्वास्थ्य आमा समूह जोखिमको समन्वयमा आइतबारदेखि उद्यमशीलता विकास तथा जीविकोपार्जनका लागि प्रशिक्षण सुरु गरिएको वडाध्यक्ष फबिन्द्र प्रधानले जानकारी दिए । वडाध्यक्ष प्रधानले भने, “आत्मनिर्भर वडाको परिकल्पना र मर्मअनुरूप प्रशिक्षणले सार्थकता दिनेछ ।”
आधारभूत तहको एक सय ६० घण्टाको सामुदायिक कृषि सहायक सीपमूलक प्रशिक्षण सुरु गरिएको सुम्निमा बहु प्राविधिक शिक्षालयका प्रमुख राजीवकुमार ठाकुरले बताए । उनले भने, “आमा समूहमा आबद्ध सदस्यहरूलाई लक्षित गरी प्रशिक्षण थालिएको हो, यसले समूह सदस्यहरूको क्षमता अभिवृद्धिमा मद्दत पुग्छ ।”
प्रशिक्षणमा २० जना आमाहरूको सहभागिता रहेको छ । २८ दिनसम्म प्रशिक्षण सञ्चालन हुने शिक्षालयका कृषि कार्यक्रम संयोजक तथा प्रशिक्षक प्रमोद राईले जानकारी दिए। पञ्चकन्या स्वास्थ्य आमा समूह अध्यक्ष भगवती श्रेष्ठले समूहमा आबद्ध सदस्यहरूका लागि प्रशिक्षण प्रभावकारी हुने र यसले आगामी दिनमा सक्रिय बन्न प्रेरणा दिने बताए ।