Harsamaya
 वायुसेवा निगमको आन्तरिक उडान ठप्प
नेपाल वायुसेवा निगमको कार्यालय
काठमाडौं - विमान अभावले आन्तरिक उडानमा दरिलो उपस्थिति देखाउन नसकेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आन्तरिक उडान ठप्प भएको छ । उडानमा रहेको एक मात्रै ट्वीनअटर विमान पनि ग्राउण्डेड भएपछि निगमको आन्तरिक उडान पूर्ण रूपमा ठप्प भएको हो ।
 
निगमसँग आन्तरिक उडानमा दुई थान ट्वीनअटर विमान छन् । तीमध्ये एउटा विमान गत जेठदेखि ग्राउण्डेड छ भने अर्को पनि हालै ग्राउण्डेड भएको छ ।
 
प्राविधिक समस्या आएकाले आइतबारदेखि आन्तरिक उडान हुन नसकेको निगमका प्रवक्ता रमेश पौडेलले बताए । उनले ताकेता गरेर सकेसम्म चाडै विमान उडान सेवा सञ्चालन गरिने बताए । “प्राविधिक समस्या आएकाले केही समयलाई विमान ग्राउण्डेड भएको हो”, उनले भने,“समस्या समाधानका लागि आवश्यक प्रक्रियामा सुरु भइसकेको छ । अघिल्लो विमान ग्राउण्डेड भएलगत्तै यो प्रक्रिया सुरु भएको हो ताकेता गरेर छिट्टै काम हुन्छ ।”
 
निगमले काठमाडौँ र क्षेत्रीय हब विमानस्थलबाट दुर्गम क्षेत्रमा आन्तरिक उडान गर्दै आएको छ । निगमसँग अन्तराष्ट्रिय उडानका लागि दुई थान वाइडबडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० विमान छन् ।
प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update