म्याग्दी - यहाँको बेनी नगरपालिका–९ स्थित घतानमा सामुुदायिक वनको घाँसदाउरा बेचेको, मन्दिरको भेटीका, सरकारी निकाय र दाताको सहयोग जुटाएर स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ । रु १५ लाखको वडास्तरीय विपद् व्यवस्थापन कोष स्थापना गर्नाका साथै रु नौ लाख २४ हजारको लागतमा स्वास्थ्य चौकीको दुईकोठे भवन निर्माण गरिएको हो ।
बेनी नगरपालिका–९ का पूर्ववडाध्यक्ष बेलबहादुर चोखालले सरकारी निकाय र समुदायस्तरबाट सहयोग जुटाएर भवन निर्माण र अक्षयकोष स्थापना गरिएको बताए । “विसं २०७६ मा समुदायस्तरबाट सङ्कलित रु दुई लाख ६० हजारबाट भवन निर्माण थालिएको थियो,” उनले भने, “भवन निर्माणलाई पूर्णता दिन जिल्ला समन्वय समितिले रु पाँच लाख, गलेश्वर मन्दिरबाट रु एक लाख र सातवटा सामुदायिक वन उपभोक्ता समूहले रु ५७ हजार सहयोग गरेका छन् ।
”गलेश्वर शिवालय क्षेत्र विकास कोषले मन्दिरको भेटी र सामुदायिक वन उपभोक्ता समूहले घाँस, दाउरा र काठ बिक्रीबाट भएको आम्दानी भवन निर्माणमा सहयोग गरेको चोखालले बताए । वडाध्यक्ष चक्र केसीले समुदायस्तरबाट सङ्कलितरु १५ लाखको विपद् कोष स्थापना भएको र सोको परिचालनका लागि विधान बनाएर संस्था दर्ता प्रक्रियामा रहेको बताए ।
वडाअध्यक्षको संयोजकत्वमा विपद् कोष बनाइएको छ । यसअघि एकतले तीनकोठे पुुरानो भवनमा स्वास्थ्य चौकी सञ्चालन हुँदै आएको थियो । साँघुुरो भवनमा सेवा प्रवाहमा समस्या भएपछि पहिलो तलामा दुईवटा पक्की कोठा बनाइएको हो । भवनको आइतबार जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा भवन निर्माण र वडास्तरीय विपद् व्यवस्थापन कोष स्थापनाका लागि सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो ।