६ महिनामा राजस्व संकलन १२ दशमलव ६ प्रतिशत, निर्यात ३१.८ प्रतिशतले वृद्धि
काठमाडौं - चालू आर्थिक वर्षको ६ महिनामा आर्थिक सूचकहरूमा सकारात्मक संकेत देखिएका छन् ।
आइतबार अर्थ मन्त्रालयले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको तथ्यांकमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा राजस्व, निर्यातलगायतमा वृद्धि भएको हो । मन्त्रालयका अनुसार ६ महिनामा राजस्व संकलन १२ दशमलव ६ प्रतिशत पुगेको छ । अघिल्लो सोही अवधिमा राजस्व संकलन ८ दशमलव २ प्रतिशत रहेको थियो । त्यस्तै निर्यात ३१.८ प्रतिशतले वृद्धि भएको छ ।
गत अघिल्लो आर्थिक वर्षको सोही अवधिमा निर्यात ७ दशमव २ प्रशितले घटेको थियो । मन्त्रालयका अनुसार चालू खर्चका लागि विनियोजित ७ खर्ब ३१ अर्ब ७९ करोडमध्ये पुस मसान्तसम्म २ खर्ब ६६ अर्ब ८५ करोड खर्च भएको छ ।
त्यस्तै चालू आर्थिक वर्षको पहिलो ६ महिनामा वित्तीय समानीकरण अनुदानतर्फ ६८ अर्ब २६ करोड, ससर्त अनुदान १ खर्ब १२ अर्ब २५ करोड, समपूरक अनुदान २ अर्ब ४३ करोड, विशेष अनुदान २ अर्ब ५१ करोड गरी कुल १ खर्ब ८५ अर्ब ४४ करोड हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ । पत्रकार सम्मेलनमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकारको पहलका कारण अर्थतन्त्रका नकारात्मक सूचकहरू सकारात्मक हुँदै गएको बताए ।
अर्थतन्त्रका सूचकहरू समेत सकारात्मक देखिएको भन्दै उनले तथ्यांकमा चलखेल नगर्ने स्पष्ट पारे । नीति तथा कार्यक्रम, बजेट निर्माण तथा बजेट कार्यान्वयनमा फरक फरक मन्त्री भएका कारण क्यालेण्डरमा केही समस्या देखिएको उनले बताए । अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्र र बैंकिङ् प्रणालीलाई असफल हुन नदिने दाबी गरे ।
उनले मुलुकको आर्थिक तथा व्यवसायिक वातावरण सुधार गर्नुका साथै लगानी अभिवृद्धिमा सहयोग पुराउनका साथै सरकारी लगानीको प्रभावकारी व्यवस्थापन गर्न आर्थिक विषयसँग सम्बन्धित अध्यादेश ल्याइएको धारणा राखे ।
प्रकाशित मिति: आइतबार, माघ ६, २०८१ १९:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय