डडेल्धुरा - किवीको बिरुवा बिक्री गरेर आलिताल गाउँपालिका- २ का लक्ष्मण थापामगरले वार्षिक रु. पाँच लाख आम्दानी गर्दै आएका छन् । उनले विगत तीन वर्षदेखि ध्रुव कृषि फार्म सञ्चालन गर्दै आएका छन् ।
थापामगर अहिले डडेल्धुरामा उत्पादन गरिएका विभिन्न प्रजातिका किवीका बिरुवा सुदूरपश्चिमका विभिन्न जिल्लामा बिक्री गर्छन् । फार्मबाट रेडकिवी, हेवार्ड, ब्रुनो, मन्टी एलिसन, जेसबेरी र ग्रिन क्विन गरी ६ प्रजातिका किवीको बिरुवा उत्पादन तथा बिक्री भइरहेको छ ।
उनले आलिताल- २ को लामिटुडामा रहेका फार्मको शाखा अमरगढी- २ कुस्मालीमा पनि स्थापना गरेका छन् । लामिटुडास्थित फार्ममा करिब १५ रोपनी जमिनमा व्यावसायिक रूपमा किवी खेती गर्दै किवीको बेर्नासमेत उत्पादन गरिरहेको बताए ।
फार्ममा हाल पाँच हजार बिरुवा उत्पादन गरी सुदूरपश्चिमका पहाडी जिल्लामा बिक्री गरिरहेको सञ्चालक थापाले जानकारी दिए । किसानहरूको मागअनुसार किवीका बोट उपलब्ध गराइरहेको र प्रतिबोट रु. १५० का दरले बिक्री गरिरहेको उनले जानकारी दिए । डेढ रोपनी क्षेत्रफलमा उनले किवीको बेर्ना उत्पादन गरिरहेका छन् । किवीको बेर्ना जोगाउन एक-एक हप्तामा गोडमेल गर्नुपर्ने थापाले बताए । बेर्ना बिक्री गरेरै वार्षिक रु. पाँच लाख आम्दानी गरिरहेका थापाले आफूले किवी खेती सुरु गर्दा प्रतिबोट रु. पाँच सयका दरले किनेर लगाएको बताए ।
अहिले डडेल्धुरा जिल्लामा ४०-५० किसानले किवी खेती गर्दै आएका छन् । सुरुमा एकपटक लगानी गरेपछि ४०-५० वर्षसम्म उत्पादन दिइरहने र बजारको अभाव नहुने भएपछि किसान किवी खेतीतर्फ आकर्षित भएका कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र पनेरूले बताए । उनले भने, ‘किवी खेतीका लागि मौसमअनुसार पनि डडेल्धरा उपयुक्त मानिने हुँदा त्यसतर्फ किसान बढी आकर्षित भएका छन् ।’