खप्तड र रारामा पर्यटक प्रहरी इकाई स्थापना गरिने
काठमाडौं - पर्यटन विभागले सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड र कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारामा पर्यटक प्रहरी इकाई स्थापना गर्ने भएको छ।
संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले सुदूरपश्चिमको खप्तड र कर्णालीको रारा पर्यटक इकाइ गठन गर्ने निर्णय गरी कार्यान्वयनको प्रक्रियामा रहेको पर्यटन विभागका महानिर्देशक सहसचिव नारायण रेग्मीले जानकारी दिए।
खप्तडमा र रारामा पर्यटक प्रहरीको युनिट स्थापना गरिएसँगै त्यहाँ आवतजावत गर्ने पर्यटकलाई सहजता हुने अनुमान गरिएको छ।
पर्यटक प्रहरीले विभिन्न राष्ट्रहरूबाट आउने विदेशी पर्यटकहरूको शान्ति सुरक्षाका साथै उनीहरुलाई सहजीकरण गर्ने काम गर्दै आइरहेको छ।
हाल ५ वटा प्रदेशमा पर्यटन प्रहरीको युनिट रहेको भए पनि सुदूरपश्चिम र कर्णालीमा भने त्यसको स्थापना भएको थिएन।
प्रकाशित मिति: आइतबार, माघ ६, २०८१ १७:०१
प्रतिक्रिया दिनुहोस्