Harsamaya
८ किलो दुर्घटना : ट्रक कन्टेनरले मृतकका परिवारलाई ११ लाख दिने सहमति
विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई लामोसाँघु जिरी सडक खण्डको ८ किलो नजिक ठक्कर दिँदा डाँडापाखरका दावा छिरिङ तामाङकाे जलेर मृत्यु ।

काठमाडौं - शनिबार दिनभर बन्द रहेको लामोसाँघु-जिरी सडकखण्ड खुलेको छ । दुर्घटनामा मृत्यु भएकाका परिवार र ट्रक कन्टेनरबीच सहमति भएपछि बाटो खुलेको हो ।

ट्रक कन्टेनरको तर्फबाट मृतकको परिवारलाई १० लाख ५० हजार क्षतिपूर्ति दिने, क्रिया खर्चका लागि ५० हजार दिने र २२० पल्सरको क्षतिपूर्ति दिने सहमति भएको छ ।

यसैगरी दुर्घटनामा मृत्यु भएका मृतक दावा छिरिङ तामाङको परिवारलाई लिसंखुपाखर गाउँपालिकाले १ लाख आर्थिक सहयोग गर्ने भएको छ । गाउँपालिका अध्यक्ष राजु लामाले तामाङका २ जना छोरा र छोरीलाई कक्षा १२ सम्म निःशुल्क अध्ययनको जिम्मा गाउँपालिकाले लिने जानकारी दिए । 

शुक्रबार दोलखाबाट काठमाडौं जाँदै गरेको मालबाहक ट्र्कले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई लामोसाँघु-जिरी सडक खण्डको ८ किलो नजिक ठक्कर दिँदा डाँडापाखरका तामाङको जलेर मृत्यु भएको थियो ।

मधेश प्रदेश ०३-००२ ख ०५३४ नम्बरको ट्रकले बागमती प्रदेश ०२-०३३ प ७३०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकलमा आगलागी भएको थियो । शनिबार सहमति नहुञ्जेल बलेफि गाउँपालिकाको खाडिचौर र ८ किलोमा मृतकका आफन्तले सडकमै शव राखेर प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  ०८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update