पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण गर्ने दुई जना पक्राउ
झापा - कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली कांग्रेसका प्रदेश सभापति उद्धव थापामाथि हातपात गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आज दिउँसो शिवसताक्षीस्थित दोमुखा पर्यटकीयस्थलमा सम्पन्न नेपाल प्रेस युनियन झापाको साधारणसभामा सहभागी भएर अर्जुनधारास्थित निवास फर्किंदै गर्दा उनीमाथि पूर्वपश्चिम राजमार्गको सुरुङ्गा खण्डमा हातपात भएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए ।
उनले पूर्वमुख्यमन्त्री थापामाथि हातपात गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जानकारी दिए । ‘पूर्वमुख्यमन्त्रीज्यू कार्यक्रममा सहभागी भएर निवास फर्किंदै हुनुहुन्थ्यो । बाटोमा हातपात भएछ । ती व्यक्ति नेपाल विद्युत् प्राधिकरणको कर्मचारी भएको जानकारी आएको छ । उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।’
पूर्वमुख्यमन्त्री थापाले आफू चढेको बा१झ ६५३ नंको गाडीलाई अवरोध गरी अपरिचित समूहद्वारा अचानक आक्रमण गरिएको बताए । ‘हामी निवास फर्किंदै थियौँ, सुरुङ्गामा आइसकेपछि अपरिचित समूहले हाम्रो सवारीसाधनलाई रोकेर ममाथि हातपात गर्यो ।’
आक्रमणमा थापाको आँखा र अनुहारमा सामान्य चोट लागेको छ । विर्तासिटी हस्पिटलमा उपचारपछि उनी निवास फर्किसकेका छन् । प्रहरीले आक्रमणस्थलमा रहेको नेपाल विद्युत् प्राधिकरणको सवारी साधनसमेत नियन्त्रणमा लिएको छ ।
यो पनि पढ्नुहोस
प्रकाशित मिति: शनिबार, माघ ५, २०८१ २२:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय