भारत - प्रयागराज शहरमा चलिरहेको महाकुम्भको छैटौं दिन बेलुका ४ बजेसम्म २५ लाख भन्दा बढी तीर्थयात्रीहरूले भ्रमण गरेका छन् ।
महाकुम्भको छैटौं दिन त्रिवेणी सङ्गममा १० लाखभन्दा बढी कल्पवासी र ३५ लाख भक्तजनले स्नान गरेको तथ्यांक छ। जनवरी १७ शुक्रबारसम्मको तथ्यांकअनुसार हालसम्म ७३ लाखभन्दा बढी तीर्थयात्रीले महाकुम्भ मेलामा दर्शन गरेका छन् ।
यसैबीच, रक्षामन्त्री राजनाथ सिंहले चलिरहेको महाकुम्भलाई भारतीय संस्कृति र सनातन धर्मको आध्यात्मिक अनुभवको पर्व बताए ।
प्रयागराजमा चलिरहेको महाकुम्भको छैटौं दिन त्रिवेणी सङ्गममा स्नान गरेपछि राजनाथ सिंहले एएनआईसँग भने,‘मलाई भगवानले यो अवसर दिनुभएकोमा म आफ्नो सौभाग्य ठान्छु । आज सङ्गममा स्नान गरेपछि म धेरै सन्तुष्ट महसुस गरेको छु ।’
‘यो पर्व भारतीय संस्कृति र सनातन धर्मको आध्यात्मिक अनुभवको पर्व हो, जुन प्राचीन वैदिक खगोलीय घटनामा आधारित छ ।’
शीर्ष भाजपा नेताले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई विश्वको सबैभन्दा ठूलो सार्वजनिक जमघट आयोजना गरेकोमा बधाई पनि दिए ।
‘उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले विश्वको सबैभन्दा ठूलो सार्वजनिक जमघटलाई कुशलतापूर्वक सञ्चालन गर्ने तरिकाका लागि बधाईको हकदार छन् । म उहाँलाई यसका लागि हृदयदेखि बधाई दिन्छु,’ उनले बताए ।
सिंहले स्नान गरेपछि पवित्र गङ्गा, यमुना र सरस्वती नदीको सङ्गममा पूजापाठ गरे । रक्षामन्त्रीसँगै भारतीय जनता पार्टी (भाजपा)का सांसद सुधांशु त्रिवेदीलगायत पार्टीका अन्य नेताहरू पनि थिए ।
१३ जनवरीबाट सुरु भएको महाकुम्भ फेब्रुअरी २६ मा समापन हुनेछ ।