Harsamaya
भुल्केका ४६८ घरमा ‘एक घर, एक धारा’
भोजपुरको रामप्रसादराई गाउँपालिका वडा नं ३ भुल्केले ‘एक घर, एक धारा’ अभियान सञ्चालन।

भोजपुर - भोजपुरको रामप्रसादराई गाउँपालिका वडा नं ३ भुल्केले ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरेर चार सय बढी घरमा पिउने पानी वितरण गरेको छ । वडाले यो अभियानअन्तर्गत स्थानीयको पानीको समस्या समाधन गरेको हो ।

पिउने पानीको समस्या रहेका यहाँका सबै स्थानीयको घरमा ‘एक घर, एक धारा’ सञ्चालनमा ल्याएको छ । वडाभित्रका सम्पूर्ण चार सय ६८ घरमा धारा जडान भएको वडाध्यक्ष रामु थापामगरले बताए ।

आर्थिक वर्ष २०८०/८१ मा वडाको बजेटबाट रू दश लाख विनियोजन गरेर २१६ घर र यसअघि निर्माण भएका धारासहित ४६८ घरमा पानी सञ्चालन गरिएको उनको भनाइ छ । वडामा अभियान सञ्चालन गरेर पानी वितरण गरिएपछि स्थानीयको पानीको समस्या हटेको उनको भनाइ छ ।

“हामीले यहाँका स्थानीयको पानीको समस्या समाधानको लागि अभियान सञ्चालन गरेर पानी वितरण गरेका छौँ”, वडाध्यक्ष थापामगरले भने, “यहाँका सबै घरमा शुद्ध पिउने पानी पुर्‍याउन सफल भएका छौँ । यसले स्थानीयको वर्षौंदेखि पानीको समस्या समाधान भएको छ ।”

वडाले अभियान सञ्चालन गरेर प्रत्येक घरमा शुद्ध पिउने पानी पुर्‍याएपछि स्थानीयवासी खुसी भएका छन् । घरमा धारा जडान भएपछि वर्षौंदेखिको पानीको समस्या अन्त्य भएको स्थानीयवासी कल्पना भट्टराईले बताइन् । अब भने पानीको जोह गर्नको लागि घण्टौँ समय बिताउनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

“घरमा धारा नहुँदा पानीको निकै समस्या थियो”, उनले भनिन्, “अन्यत्रबाट बोकेर ल्याएर पानीको जोह गर्नुपर्ने अवस्था थियो । वडाको पहलमा घरमा नै धारा जडान भएपछि सहजता भएको छ ।” घरमा धारा नहुँदा तीन धारा भन्ने स्थानबाट डोको बोकेर पानीको जोह गर्दै आएको स्थानीयवासी सरस्वती भट्टराईले बताइन् ।

घरको आँगनमा धारा जडानले सरसफाइसँगै खेर गएको पानी करेसाबारीमा प्रयोग गर्दै आएको उनको भनाइ छ । “विगतमा पानीको जोह गर्न डोकोमा बोकेर ल्याउनुपर्ने अवस्था थियो”, उनले भनिन्, “अहिले धारा जडान भएपछि दैनिक कामकाजमा सहज छ । खेर गएको पानीलाई सदुयोग गरेर करेसाबारीमा प्रयोग गरिरहेका छौँ ।”

धारा जडानसँगै स्थानीयको स्वास्थ्यलाई ध्यानमा राख्दै पानी जन्य रोगबाट बच्नको लागि वडाले एक घर एक फिल्टरको अभियान सञ्चालन गरेर फिल्टर पनि वितरण गरिएको वडासदस्य टेकराज भट्टराईले बताए । त्योसँगै स्थानीयलाई आवश्यकताको आधारमा वितरण गर्दै आएको उहाँले जानकारी दिनुभयो । “यहाँका सबै स्थानीयको घरमा धारा पुगेको अवस्था छ”, उनले भने, “पानीजन्य रोगबाट बच्नको लागि स्थानीयलाई फिल्टर पनि वितरण गरिएको अवस्था छ ।”

प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  १९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update