
काठमाडौं - कांग्रेसले नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन गर्ने भएको छ । कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले साना तथा मझौला व्यवसायीले उत्पादन गरेका वस्तुको बजारीकरण गर्न माघ १६ र १७ गते सम्मेलन गर्ने भएको हो ।
आर्थिक रूपान्तरणलाई प्रवर्द्धन गर्न, लगानी प्रोत्साहन गर्न, डिजिटल अर्थतन्त्रलाई प्रवर्द्धन गर्न सम्मेलन गर्न लागेको विभागकी संयोजक तथा केन्द्रीय सदस्य उर्मिला थपलियाले जानकारी दिइन् । सम्मेलन नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा हुनेछ ।
सम्मेलनमा ८० वटा स्टल राख्ने आयोजकले जनाएको छ । सम्मेलनमा नेपालमा उत्पादन गरेका वस्तुको प्रदर्शनी गर्नका लागि नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभाग र नेपाल घरेलु तथा साना उद्योग महासंघका बीच सहमति पत्रमा हस्ताक्षर भइसकेको छ ।