काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको शब्दमा ‘क्षितिजबाट घाम’ शीर्षकको गीत सार्वजनिक भएको छ ।
देशभक्तिको भावनामा रचिएको उक्त गीतको म्युजिक भिडियो पनि निर्माण गरिएको छ । उक्त भिडियोको निर्देशन वासु दुलालले गरेका छन् भने गीतमा गायिका तारा दुलाल र परेश राईले स्वर दिएका छन् ।
सामाजिक परिवर्तन, आर्थिक विकासका विषय समेटिएको गीतमा संगीत तोरेम्पा हाङ र संगीत संयोजन राजु कार्कीले गरेका छन् । बढ्दो महँगी, बेरोजगारी अन्त्य गर्न सुशासन कायम गर्नुपर्नेमा जोड दिइएको गीतमा पार्टीको दशौँ महाधिवेशनका दृश्य समावेश गरिएका छन् । उक्त म्युजिक भिडियोको रेकर्डिङ किंङ् रेकर्डिङ स्टुडियो काठमाडौँमा गरिएको हो ।
नेता खनालले समाजवादी अर्थ व्यवस्थाका लागि आवश्यक वातावरण बनाउन साहित्य सृजना गरेकाले गीतमा प्रगतिशील शब्दहरू चयन गरिएको बताए । गीत सबै दर्शक र श्रोताको निम्ति महत्त्वपूर्ण हुने बताउँदै उनले हामी सबैको बाटो समाजवाद हो भन्ने मूल उद्देश्यका साथ यो गीत रचना गरेको उल्लेख गरे । यसअघि उनका केही पुस्तक र गीत पनि प्रकाशन भएका छन् ।