धनगढी - धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ ।
गो ड्रिमर्सको आयोजनामा माघ १९ गतेदेखि २८ सम्म अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुन लागेको हो ।
बिहीबार धनगढी क्रिकेट एकेडेमीमा पत्रकार सम्मेलनको गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइएको हो । यस बर्षदेखि नेपाल क्रिकेट संघको वार्षिक क्यालेण्डरमा समावेश भएर प्रतियोगिता आयोजना गर्न लागेको गो ड्रिमर्सका अध्यक्ष सुवाश शाहीले जानकारी दिए ।
प्रतियोगिताका खेलहरू खेल्नका लागि फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चार वटा पिच निर्माण सम्पन्न भइसकेका छन् । मैदानमा दर्शकहरूलाई बस्नका लागि कृत्रिम प्याराफिट पनि जडान गरिसकिएको छ ।
स्वर्गीय अर्जुन खड्काको स्मृतिमा आयोजना हुन लागेको अर्जुन ट्रफीको पुरस्कार राशी २० लाख रुपैयाँ छ । रनिङ ट्रफीको रुपमा टी–२० फर्म्याटको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०/५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ ।
प्रतियोगितामा देशभरका ८ वटा क्लबका टीमहरूको सहभागीता रहनेछ । प्रतियोगितामा डिसिए धनगढी, सिवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) काठमाण्डौं, फेण्ड्स युथ क्लब डडेल्धुरा, घोडाघोडी–११ सुखड, न्यु होराईजन वुटवल, दशरथ चन्द एकेडेमी बैतडी र वोष्टन क्रिकेट झापाको सहभागीता जनाउनेछन् ।
प्रतियोगितामा सहभागी टोलीमा ए क्याटोगोरीका चार जना, बी क्याटोगोरीका पाँच जना र बाँकी सी क्याटोगोरीका गरी १४ खेलाडी समावेश गर्न पाईनेछ । ए क्याटोगोरीमा नेपाली राष्ट्रिय टीमका खेलाडी रहेका छन् भने बी क्याटोगोरीमा नेपाली राष्ट्रिय टीम ए, यु– १९ नेपाली राष्ट्रिय टोली र प्रदेश स्तरीय सिनियर खेलाडी रहेका छन् । सी क्याटोगोरीमा यु– १६ नेपाली राष्ट्रिय टोली, प्रदेशका यु–१९ र यु–१६ का खेलाडी र अन्य खेलाडीहरू रहेका छन् ।