Harsamaya
कृषिकर्मबाट वार्षिक १० लाख आम्दानी
प्रतिकात्मक तस्वीर: हर समय/ Har Samaya

दाङ - घोराही उपमहानगरपालिका–१९ रालबाङका नोटबहादुर रोका विगत चार वर्षदेखि कृषि कर्ममा रमाइरहेका छन् । यही पेसाबाट उनले वार्षिक १० आम्दानी गर्दै आएका हुन् । 

अहिले गोलभेँडा, अकबरे खुर्सानीलगायत तरकारीको व्यावसायिक खेती गर्दै आएका ३८ वर्षीय रोकाले २० वटा बङ्गुर पनि पालेको बताए । उनले एक बिघामा तरकारीखेती गरिरहेको भन्दै यसबाट प्रशस्त आम्दानी हुँदै आएको बताए ।  

यसअघि रोकाले करिब १५ वर्ष रोजगारीको सिलसिलमा भारतमा जीवन व्यतीत गरे । अरुको देशमा काम गर्नुभन्दा आफ्नै गाउँठाउँमा परिवारसँगै बसेर दुई–चार पैसा कमाएर बस्न पाएकामा उनले खुसी व्यक्त गरे । 'यस वर्ष समयमा गोलभेँडा उत्पादन गरेकाले बजारको समस्या भएन;, उनले भने, 'भोलिका दिनमा पनि यही खेतीलाई निरन्तरता दिने योजनामा छु ।'

मिलीजुली कृषि फार्ममार्फत कृषि व्यवसाय गर्दै आएका रोकालाई आजभोलि बारीबाट गोलभेँडा टिप्न र बिक्री गर्न भ्याइनभ्याई छ । उनले आफूले गर्दै आएको सम्पूर्ण कृषि व्यवसायमार्फत वार्षिक रु १० लाख बढी आम्दानी हुने जनाउँदै करिब रु छ लाख बचत भइरहेको बताए । 

यो वर्षको सुरुमा गोलभेँडा प्रतिकिलो रु एक सय ३० का दरले बिक्री गरेका रोकाले अहिले भने प्रतिकिलो रु २०–२५ मा बिक्री हुने उल्लेख गरे । विस्तारै गोलभेँडाको मूल्य बढ्दै जाने उनको बुझाइ छ । 'पछिल्लो समय गोलभेँडाको मूल्य घटेको भए पनि आफ्नो लगानी र आम्दानी उठिसकेको छ', उनले भने, 'अहिले आफ्नै साधनमार्फत गोलभेँडा बिक्रीका लागि जाने गरेको छु ।'

घोराही–१९ रालबाङमा सिँचाइको सुविधा पर्याप्त भएकाले किसानलाई कृषि व्यवसायमा आबद्ध हुन सहज हुने गरेको रोकाको भनाइ छ । उनीसहित ६ जनाको परिवार रहेको भन्दै कृषिकर्मबाट भएको आम्दानीले दैनिक घर खर्चका साथै छोराछोरीलाई शिक्षा खर्च व्यवस्थापन भइरहेको उनले बताए । 

बिचौलियाका कारण किसान र उपभोक्ता सधैँ मारमा पर्ने समस्या भएकाले भन्दै रोकाले अटोबाट गाउँ, सहर सबैतिर उत्पादित तरकारी बिक्री गर्दै आएको बताए ।  युवालाई विदेश जानबाट रोक्न स्थानीय सरकारले रोजगारीका अवसर सृजना, आयमूलक सीप विकासलगायत क्षेत्रमा लगानी गर्नुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  २१:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update