Harsamaya
यातायात कार्यालय धनगढीद्वारा ३६ करोड राजस्व संकलन
सांकेतिक तस्वीर : हर समय/Har Samaya

कैलाली - यातायात व्यवस्था कार्यालय धनगढीले चालु आर्थिक वर्षको हालसम्म रु ३६ करोड बढी राजस्व संकलन गरेको छ । कार्यालयले चालु आवको पुस मसान्तसम्म विभिन्न शीर्षकबाट रु ३६ करोड ९९ लाख ९१ हजार छ सय ९५ राजस्व संकलन गरेको हो ।

यातायात व्यवस्था कार्यालयका प्रमुख विनोदकुमार पालीले कार्यालयले सवारीसाधन करबाट सबैभन्दा बढी २७ करोड ६६ लाख ४४ हजार चार सय ७० राजस्व संकलन गरेको जानकारी दिए । सबैभन्दा कम अन्य प्रशासनिक सेवा शुल्कबाट रु पाँच हजार चार सय राजस्व संकलन गरेको छ ।

चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट रु आठ करोड ७४ लाख १९ हजार नौ सय ९५, रुटपरमिट, प्रदूषण, पटके (अन्य देशका सवारीबाट उठाइएको)बाट रु ५१ लाख २५ हजार ३० र व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट रु सात लाख ९६ हजार आठ सय राजस्व संकलन गरेको छ । 

चालु आवमा कार्यालयको बेरुजु रकम हालसम्म रु शून्य रहेको कार्यालयका प्रमुख पालीले बताए । कार्यालयले गत आवमा विभिन्न राजस्व शीर्षकबाट रु ६५ करोड ३१ लाख ६३ हजार ९६ राजस्व संकलन गरेको थियो भने बेरुजु रकम रु एक लाख १९ हजार एक सय रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  २१:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update