Harsamaya
 विचार स्वतन्त्रतालाई बन्देज लगाउने कार्यका विरुद्ध लड्नुपर्छ : सभामुख घिमिरे
काठमाडौं - प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विचार स्वतन्त्रतालाई बन्देज लगाउने कार्यका विरुद्ध लड्नुपर्ने बताएका छन् । 
 
मंगलबार काठमाडौंमा आयोजित नेपाल पत्रकार महासंघका नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई पद हस्तान्तरण समारोहमा सभामुख घिमिरेले विचार मिले स्वतन्त्रताका कुरा निकाल्ने र असहमति भए बिचारलाई नै बन्देज लगाउने कार्य विरुद्ध लड्नुपर्ने बताए । 
 
उनले लोकतन्त्रको सुन्दर पक्ष नै बिचार अभिव्यक्तिको स्वतन्त्रता भएको जिकिर गरे । सभामुख घिमिरेले पेशागत हकहितको संरक्षणका साथै आफ्नो मूल्य मान्यताका साथ अघि बढ्न महासंघलाई सुझाव दिए । 
 
संस्थाको नेतृत्वमा भइरहेको गतिविधिमा आफू सकारात्मक रहेको भन्दै उनले अब आउन सक्ने चुनौतीलाई पनि महासंघको नेतृत्वले सहि ढंगले सामना गर्ने विश्वास व्यक्त गरे । 
 
त्यस्तै महासंघकी नवनिर्वाचित अध्यक्ष निर्मला शर्माले श्रमजिवि पत्रकारको मुद्दामा महासंघ सदैव लड्ने बताइन् ।  विभिन्न आस्थाका आधारमा महासंघको चुनावमा प्रतिष्पर्धा गरेपनि महासंघमा आएपछि सवैलाई एकतावद्ध भएर अघि बढाउने उनको भनाइ छ । 
 
कार्यक्रममा महासंघका नवनिर्वाचित केन्द्रीय कार्य समिति सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो भने नवनिर्वाचित अध्यक्ष शर्माले पदभार ग्रहण गरेका थिए । 
प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update