Harsamaya
चिनियाँ नागरिक अपहरणमा संलग्न भएको आरोपमा चार भारतीय पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - अपहरण तथा शरीर बन्धक कसुरमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं ठमेल बस्ने भारत महाराष्ट्र प्रदेश सतरा फल्टन थाना घर भएका ३३ वर्षीय आशुतोष दत्तात्रय थोरात, ४० वर्षीय अफसर युनुश शेख, भारत महाराष्ट्र प्रदेश अहमद नगर पाथरडि थाना घर भएका ३० वर्षीय अनमोल खरमाटे र ३२ वर्षीय अमोल भन्ने अंबदास जगन्नाथ सिरसात रहेको प्रहरीले जनाएको छ ।

काठमाडौं ठमेलस्थित काठमाडौं स्क्वायर होटलबाट चिनियाँ नागरिकलाई योजनाबद्ध तवरले ४ जना भारतीय नागरिकहरूले जबरजस्ती एमएच १६ डिजी ४९०४ नम्बरको गाडीमा राखी मंगलबार दिउँसो अपहरण गरी लगेको भन्ने खबर प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय भिमफेदी मकवानपुरको समन्वयमा मकवानपुर भिमफेदी गाउँपालिका–६ बाट घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरूलाई अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  १७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update