Harsamaya
कन्काई पुल : पाँच पटक ठेक्काको म्याद थप , १३ वर्षमा आधा काम
बन्दै गरेको कन्कार्ई पुल ।
झापा - हुलाकी राजमार्गको पूर्वी खण्ड झापा जिल्लाअन्तर्गत पर्ने झापा गाउँपालिका वडा नं २ र गौरीगञ्ज गाउँपालिका वडा नं १ जोड्न कन्कार्ई पुलको निर्माण विगत १३ वर्षदेखि अलपत्र परेको छ । 
 
विसं २०६८ मा निर्माण सम्झौता भएको पुल हालसम्म पनि नबन्दा यहाँका स्थानीय बासिन्दाले सास्ती बेहोर्नु परेको छ । यो पुल निर्माण सम्पन्न भएको भए झापा जिल्ला कोशी प्रदेश राजधानी विराटनगरबीचको यातायात सहज हुने थियो । यो पुल निर्माण सम्पन्न नहुँदा यस क्षेत्रको व्यापार व्यवसाय तथा पर्यटन प्रवद्र्धनमा समेत असर परेको छ ।  
 
हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरीका अनुसार २०६८ जेठ ३० गते चार वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीलाई ठेक्का दिएको थियो । २०७२ को जेठ २९ मा काम सक्नुपर्ने समयसीमा तोकिएको भए पनि, हालसम्म पुलको ५८ प्रतिशत भौतिक प्रगति भएको छ ।  पाँच पटकसम्म ठेक्काको म्याद थप गरिए पनि निर्माणमा गति आउन नसकेको कार्यालयका सूचना अधिकारी समेत रहेका इञ्जिनियर प्रभात किरण राईले जानकारी दिए ।  उनका अनुसार पाँचौँ पटक थप भएको म्याद २०८० सालको असारमा सकिएको थियो ।
 
पुल निर्माणको काममा प्राविधिक त्रुटि देखिएपछि कार्यालयको अनुरोधमा पुल्चोक इञ्जिनियरिङ क्याम्पसको विशेषज्ञ टोलीले अध्ययन गरी सुझावसहितको प्रतिवेदन बुझाएको छ । प्रतिवेदनअनुसार देखिएका समस्याको समाधान गरी काम अगाडि बढाउन पटक–पटक निर्देशन दिइए पनि निर्माण कम्पनी काम सुरुआत नगरेको इञ्जिनियर राईले बताए । उनका अनुसार अझै पनि काम सुरु गर्न आनाकानी गरिराख्ने हो भने ठेक्का रद्द गरी नयाँ प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ । 
 
प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update