हरेक सालको एक दिन मलाई एकदम दुख लाग्छ
चुपचाप म मेरा दुख लुकाउन लाग्छु
मलाई मन भारी हुने दिन, मेरो जन्मदिन हो
जहाँ म होइन मेरा आफ्नाहरू खुशी हुन्छन् ,
शुभकामनाका अनगिन्ती कोसेली पठाउँछन्।
जिन्दगीले फड्को मारी रहँदा
कैयौँ इच्छाको घाटी निमोठी रहँदा
बितेका ती अतीत सम्झिएर म भक्कानिँदा
रून्छ मन, अतालिन्छु यसै जोबन बित्दै जाँदा।
झोला भरी सुका जाने चकलेट गाउँभरी बाँडेका याद र ती पल
अब मलाई सयौं रुपैयाँको चकलेट बाँड्दा र महङ्गो उपहार पाउँदा पनि आउँदैन
बाल्यकालका ती अनमोल पल आज मलाई
महंगा रेस्टुरेन्ट र होटेलमा केक काट्दा पनि,
थोरै खुशी लाग्दैन।
ती अनमोल एक टुक्रा जिन्दगीका पलहरू
सबै बढ्दो उमेरका भेलले बगाउँदै गएको छ
परार बा अनि पोहोर आमा खोस्यो भावीले
मृत्यु हर पल मेरो नजिक आउँदै छ।
अब मलाई चोट लाग्दा मल्हम लगाउने आमा छैनन्
अब त यसो नगरन् छोरा, सम्झाउने बाबा छैनन्
जन्मदिनको अवसरमा उफ्रिने-रमाउने अचेल कुनै चञ्चलताका गीत छैनन्
अनि मेरा मन खुशी पार्ने शुभकामनाका कुनै धुन छैनन्।
बुझ्न नसकेको यो जीवन
सँगाल्नै नसकेको बाल्यकाल
अन्जान व्यक्तिबाट आएका शुभकामनाका कोलाहल
कुनै चीजले मेरो मन भुलाउनै सकेको छैन
मेरी प्यारी आमाको शुभकामना बिना,
मलाई जन्मदिनको कुनै खुसीयाली नै छैन।