Harsamaya
रविलाई आज पनि अदालत लगिने, छुट्ने वा नछुट्ने न्यायाधीशको भर
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज पुनः अदालत लगिदैँछ ।
 
लामिछानेको तर्फबाट थुनछेक बहस सकिए पनि जाहेरीवालाकोतर्फवाट भइरहेको थुनछेक बहस नसकिए पछि उनी गत आइतवार देखि काठमाडौं प्रहरीको हिरासतमा रहेका छन् ।
 
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासमा उनको थुनछेक बहस भइरहेको छ । बहस नसकिएको भन्दै आइतबार र सोमबार उनलाई हिरासतमा राख्न आदेश दिएका हुन । मंगलबार सार्वजनिक बिदा भएकाले बहस हुन नसके पछि उनलाई बुधबार मात्रै अदालत जान दिइएको हो । थुनछेक बहस सम्भवतः आजै सकिने भएकाले उनी पुर्पक्षका लागि थुनामा रहने कि बाहिर बसेर कानुनी लडाइ लड्ने भन्ने आज आदेश आउन सक्ने जनाइएको छ ।
 
कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएकोले काठमाडौंमा पनि बयान लिइरहेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिए पछि सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो ।
 
उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप लामिछानेसहित माथि लागेको छ ।
 
 
प्रकाशित मिति: बुधबार, माघ २, २०८१  ०८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update