Harsamaya
सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु
सुडानको खार्तुममा गोलाबारीमा ध्वस्त भएको घर ।
काठमाडौं - सुडानी स्वयंसेवक उद्धारकर्ताहरूले नाइल नदीको छेउमा रहेको राजधानी खार्तुमको जुम्ल्याहा सहर ओमदुरमानको क्षेत्रमा भएको गोलाबारीमा १२० जनाभन्दा बढीको मृत्यु भएको बताएका छन् । 
 
पश्चिमी ओमदुरमानमा सोमबार भएको ‘अन्धाधुन्ध गोलाबारी’ मा १२० जना सर्वसाधारणको मृत्यु भएको युद्धग्रस्त देशभरका स्वयंसेवक उद्धारकर्ताहरूको नेटवर्कको हिस्सा रहेको ओम्बाडा आपत्कालीन प्रतिक्रिया कक्षले जनाएको छ । 
 
नेटवर्कले यो मृत्यु सङ्ख्या प्रारम्भिक रहेको बताउँदै आक्रमणको पछाडि को थियो भनेर निर्दिष्ट गरेको छैन । 
 
स्वास्थ्य कार्यकर्ताहरूका अनुसार उद्धारकर्ताहरूले ‘विभिन्न स्तरका चोटपटकबाट पीडित ठूलो सङ्ख्यामा घाइते व्यक्तिहरूको’ उपचार गर्न संघर्ष गरिरहेका बेला चिकित्सा आपूर्तिको अत्यन्त अभाव रहेको बताए । 
 
सुडानमा २० महिनाभन्दा लामो युद्धपछि हालैका हप्ताहरूमा सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीचको लडाइँ बढेको छ । 
 
सहायता एजेन्सीहरूका अनुसार युद्धमा दशौँ हजार मानिस मारिएका छन् जसले देशलाई अनिकालको सँघारमा पारेको छ । 
 
सेना र आरएसएफ दुवैमाथि स्वास्थ्य कार्यकर्तासहित सर्वसाधारणलाई लक्षित गरेको र आवासीय क्षेत्रमा अन्धाधुन्ध गोलाबारी गरेको आरोप लगाइएको छ । 
 
ओमदुरमानको अधिकांश भाग सेनाको नियन्त्रणमा छ भने आरएसएफले राजधानी र बृहत्तर खार्तुम क्षेत्रको केही भाग नियन्त्रण गरेको छ । 
 
नाइल नदीका दुवै तर्फका बासिन्दाहरूले नदी पार गरेर गोलाबारी भएको बताएका छन् । त्यहाँ बम र छर्राहरू नियमित रूपमा घरहरू र नागरिकहरूमाथि पर्ने गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update