काठमाडौं - चिलिमेको सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरेको साञ्जेन जलविद्युत् आयोजनाले सोमबारदेखि व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गरेको छ। ४२ दशमलव पाँच मेगावाट क्षमताको यो आयोजना रसुवाको आमाछोदिङ्मो–५ मा अवस्थित छ र अब राष्ट्रिय प्रणालीमा बिजुली प्रवाह हुँदैछ।
आयोजनाले गत मङ्सिर ८ देखि परीक्षण उत्पादन शुरु गरेको थियो । सबै प्राविधिक परीक्षण पूरा भएपछि अब यसले राष्ट्रिय विद्युत् प्रणालीमा लगातार योगदान पुर्याउने छ। साञ्जेन जलविद्युत् आयोजनाले विशेष ‘क्यास्केड मोडल’मा काम गर्दै नेपालमा जलविद्युत् विकासका लागि नयाँ मापदण्ड प्रस्तुत गरेको छ।
प्रमुख कार्यकारी अधिकृत अर्पणबहादुर सिंहका अनुसार, आयोजनामा निर्माण गरिएको ‘पिकिङ पोखरी’ले राति विद्युत् उत्पादनमा थप क्षमता थप्नेछ। जसले प्रणालीको असन्तुलन कम गर्न मद्दत पुर्याउने विश्वास गरिएको छ।
साञ्जेन जलविद्युत् आयोजनाले अब देशको विद्युत् आपूर्ति सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ। यसको विशेष प्रविधिले मर्मतसम्भारका क्रममा पनि निरन्तर विद्युत् उत्पादन गर्न सक्षम बनाउँछ।