Harsamaya
माइती नेपाललाई सरकारको एक करोड सहयोग
माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला र प्रधानमन्त्री केपी शर्मा ओली ।

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संस्था माइती नेपाललाई एक करोड सहयोग गर्ने घोषणा गरेका छन् । 

माइती नेपालको गौशालास्थित केन्द्रीय कार्यालयमा आज स्थलगत अवलोकन गरी संस्थाको अक्षय कोष वृद्धि गर्न उक्त रकम दिने घोषणा गरेका हुन् । चेलीबेटी बेचबिखनविरुद्ध लामो समयदेखि कार्यरत सो संस्थाका गतिविधिबारे संस्थापक अनुराधा कोइरालासहित पदाधिकारी, आश्रित महिला र बालबालिकासँग उनले छलफल गरेका थिए । उक्त छलफल पछि सरकारले गर्नुपर्ने काममा संस्थाले सघाइरहेकाले यसको अक्षय कोष वृद्धि गर्ने घोषणा गरेका हुन् । 

प्रधानमन्त्री ओलीले अवलोकनका क्रममा देखेका र सुनेका समस्यालाई समाधानका लागि सरकारका तर्फबाट गम्भीरतापूर्वक पहल गर्ने विश्वास दिलाए । उनले सो संस्थाको प्रशंसा गरे । नागरिकको रक्षा र हेरचाहको जिम्मेवारी सरकारको भए पनि विविध सीमा र कतिपय अप्ठ्याराका कारण गर्न नसकिएका कामलाई यस्ता संस्थाले निरन्तरता दिएकामा उनले सन्तोष व्यक्त गरे । 

प्रधानमन्त्री ओलीले संस्थामा सञ्चालित पुनःस्थापना गृह, बाल संरक्षण गृह, एचआइभी उपचारको एआरटी केन्द्र, टेरेसा एकेडेमी स्कुललगायतको अवलोकन गरे । 

प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update