Harsamaya
'भार मापनमा लापर्बाही गर्दा दुम्कीबासको पुल भाँचियो'
बुटवल–नारायणगढ खण्डको दुम्कीबासमा भाँचिएको पुल।
काठमाडौं - नेपाल ट्रक यातायात व्यवसायी महासंघले सम्बन्धित निकायले भार मापनमा लापर्बाही गर्दा बुटवल–नारायणगढ खण्डको दुम्कीबासमा पुल भाँचिएको आरोप लगाएको छ । 
 
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले अत्याधिक भार वाहन गरि भारतीय ट्रक सञ्चालन हुँदा दुम्कीबासमा रहेको बिनय खोलाको पुल भाँचिएको भन्दै भार मापनमा लापर्बाही गर्ने निकायलाई कारबाही गर्न समेत माग गरेको छ ।
 
भारवहन नियमन सम्बन्धी कार्यविधि २०७१ ( संशोधन २०७४) लागू गरेको अवस्थामा तौलपुलले जारी गरेको प्रमाणित कागजात लिएर हिड्नुपर्ने व्यवस्थालाई भारतीय ट्रकले उल्लंघन गरेको महासंघको भनाइ छ । महासंघले भारतीय मालवाहक सवारी साधनको निर्बाध आवागमनमा रोक लगाई ७२ घण्टे प्रवेश पास खारेज गर्न माग गरेको छ ।
 
त्यस्तै मालवाहक सवारी साधन भारवाहन नियमन सम्बन्धी कार्यविधि २०७४ लाई कडाइका साथ कार्यान्वयन गर्नुपर्ने महासंघका महासचिव राजेन्द्र विक्रम बाँनियाले बताए । 
 
त्यस्तै नेपाल प्रवेश गर्ने भारतीय सवारी साधनलाई भन्सार बिन्दुमा नै नेपालको कानुनले तोकेको भारवाहन भन्दा बढी माल बस्तुको जाँच पास गर्ने अधिकारीलाई जिम्मेवार बनाइनुपपर्ने महासंघले जनाएको छ । त्यस्तै नेपालका जिर्ण पूल र जोखिमयुक्त सडकहरूमा स्पष्ट देखिने गरि सडकको क्षमता र चिन्ह राखिनुपर्ने सुझाव दिएको छ ।
 
यहि पुस २६ गते भारतीय नम्बर प्लेटको ट्रक पास हुने क्रममा बिनय खोलाको पुल भाँचिएको थियो । पुल भाँचिएपछि अस्थायी बाटो बनाएर आवतजावत गराइएको छ । 
 
प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update