Harsamaya
रवि लामिछाने प्रहरी हिरासतमा बस्नुपर्ने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने।

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं प्रहरी हिरासतमा रहने भएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले सोमबार पुनः अदालत पेस गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश गरेपछि उनी हिरासतमा नै रहने भएका हुन् ।

अधिकारीको इजलासमा भएको लामिछानेको बयान केहीबेर अघि सकिए पनि थुनछेक बहस सुरू नभए पछि सोमबार अदालतमा उपस्थित गराउने सर्तमा हिरासतमा राख्ने आदेश दिइएको स्रोतले बताएको छ ।

अदालत खुल्नु अगावै नै बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पुगेका लामिछानेले सुरूमा नै बयान दिन सुरू गरेका थिए । अदालतले कास्की जिल्ला अदालत झै धरौटी मागेमा उनी छुट्ने छन् भने नमागे वा बयान नसकिएमा उनी अझै हिरासतमा रहने जनाइएको थियो । तर थुनछेक बहस नसकिएकाले उनले कम्तीमा एकदिन हिरासतमा बस्नु पर्ने भएको हो ।

सुर्य दर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिन पछि गत बिहीबार साँझ ६५ लाख धरौटी बुझाएर पोखराबाट छुटेका थिए । त्यहाँबाट छुटे पनि शुक्रबार जिल्ला अदालत, काठमाडौंमा स्वयं हाजिर हुने भनिए पनि समय अभावका कारण उनी हाजिर हुन सकेका भने थिएनन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतबाट मुक्त भए पनि शुक्रबार राती मात्रै काठमाडौं आइपुगेका कारण उनी शुक्रबार अदालतमा हाजिर हुन नसकेको उनकी श्रीमती निकिता पौडेलले जानकारी दिएकी थिइन् ।

अहिले अदालतमा कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएकोले बयान लिइएको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिए पछि उनी अदालतमा हाजिर भएका थिए ।

उक्त सहकारीबाट ६९० बचत कर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।
 

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update