Harsamaya
जानकी गाउँपालिकाले नतिजाका आधारमा विद्यालयलाई अनुदान
कैलालीकाे जानकी गाउँपालिकाकाे कार्यालय भवन । तस्विर : गाउँपालिकाको फेसबुक पेजबाट
कैलाली - जानकी गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार गर्न नतिजाका आधारमा विद्यालयलाई अनुदान दिन सुरु गरेको छ । गाउँपालिकाले नतिजामा आधारित अनुदान कार्यक्रम कार्यविधि कार्यान्वयनमा ल्याएको छ ।  गाउँपालिकाले विद्यालयलाई विद्यार्थीले हासिल गरेको नतिजाका आधारमा अनुदान दिन सुरु गरेको हो । 
 
नतिजाकै आधारमा गाउँपालिकाले चालु आर्थिक वर्षमा विद्यालयलाई अनुदान दिएको छ । आधारभूत तहमा कक्षा ८ को परीक्षा र एसइईको नतिजामा धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयलाई अनुदान दिएको हो । जसअनुसार माध्यमिक तहतर्फ भृकुटी मावि प्रथम भएको छ । जसले रु चार लाख अनुदान प्राप्त गरेको छ । त्यसैगरी दोस्रो जनता नमूना मावि मुनुवाले रु दुई लाख ५० हजार प्राप्त गरेको छभने तेस्रो अरुणोदय मावि खैरीफाँटाले रु एक लाख ५० हजार प्राप्त गरेको छ । 
 
आधारभूत तहतर्फ राष्ट्रिय आधारभूत विद्यालय खैरीपुर प्रथम भएको छ । राष्ट्रिय आधारभूत विद्यालयले रु तीन लाख नगद पुरस्कार प्राप्त गरेको छ । त्यसैगरी दोस्रो हिमालय राष्ट्रिय मावि अमरावतीले रु दुई लाख प्राप्त गरेको छ । यसले विद्यालयलाई प्रतिस्पर्धामा ल्याउने विश्वास गाउँपालिकाको छ ।
 
गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले विद्यालयको गुणस्तर सुधार गर्न र विद्यार्थीको सिकाइ उपलब्धि बढाउनका साथै विद्यालयलाई प्रतिस्पर्धी बनाउन गाउँपालिकाले विद्यालयलाई नतिजामा आधारित अनुदान कार्यक्रम सुरु गरेको बताउँछन् । “पहिलो वर्ष आधारभूत तह र माध्यमिक तहको कक्षा ८ र १० लाई प्राथमिकतामा राखिएको थियो । आउँदो वर्षदेखि कक्षा ५ को परीक्षा नतिजाका आधारमा पनि विद्यालयले अनुदान पाउनेछन्”, अध्यक्ष चौधरीले भने, “यस कार्यक्रमले शैक्षिक गुणस्तरमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास लिएका छौँ ।”
 
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले विद्यालय र विद्यार्थीलाई सवल बनाउन गाउँपालिकाले नतिजामा आधारित अनुदान कार्यक्रम सुरु गरेको बताए । “यो कार्यविधिले विद्यालय तथा शिक्षकहरूलाई चुनौती पनि थपेको छ । साथै विद्यालयलाई नतिजा सुधारमा प्रतिस्पर्धी पनि बनाउने छ”, उनले भने, “यसले आगामी दिनमा गाउँपालिकाले चाहेको शैक्षिक गुणस्तर कायम गर्नमा मद्दत पुग्नेछ ।”
 
प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update