Harsamaya
आर्थिक विकासका लागि कानुन संशोधन गरेका छौं : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखक

काठमाडौं - गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासका लागि सरकारले अध्यादेशमार्फत केही कानुन संशोधन गरेको बताएका छन्। 

शनिबार नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २५औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री लेखकले सरकारले बढी मूल्य परे पनि स्वदेशी उत्पादन प्रयोग गर्ने नीति लिएको बताउँदै मुलुकमा उद्योगको विकासका लागि सरकार प्रतिबद्ध रहेको जनाए।

'हिजो राती अबेरसम्म बसेर सरकारले महत्त्वपूर्ण निर्णय गरेको छ,'उनले भने,'हामीले समृद्धि र आर्थिक विकासका लागि केही महत्त्वपूर्ण कानुनलाई संशोधन गरेका छौं।'चाँडोभन्दा चाँडो कानुन  संशोधनका लागि अध्यादेशमार्फत शंसोधन गर्ने सरकारले निर्णय लिएको उनको भनाई छ। 

'शासकीय सुधारसँग सम्बन्धित कानुन, उद्योग व्यवसाय सहज सञ्चालन हुने कानुन र सुशासनलाई प्रत्याभूत गर्ने कानुन छन्,' उनले भने, 'थप पनि उद्योगको वातावरण निर्माणका लागि सरकार हमेसा निजी क्षेत्रसँग मिलेर काम गर्न तयार छ।'

उनले मुलुकमा लगानीको वातावरण बनाउन गैर आवासीय नेपालीका लागि महत्वपूर्ण निर्णय गरेको समेत बताए। 'आईटीको क्षेत्रमा विदेशमा समेत सेवा निर्यात गर्न सक्ने व्यवस्था गरेका छौं,' उनले भने, 'विदेशमा सेवा गरेर उद्योगलाई प्रोत्साहित हुने गरी कानुन निर्माणमा सरकार लागेको छ।'

कानुन बन्ने तर कार्यान्वयन नहुने समस्यालाई सरकारले सचेतता पूर्वक निर्णय गरेको उनले बताए। 'सात दिनभित्र निर्णय गर्ने निर्णय नभए कारबाही हुने व्यवस्था गरेका छौं,' लेखकले भने, 'सात दिनभित्र हुने भए हुन्छ। नहुने भए हुँदैन भन्ने निर्णय गरि सक्नुपर्ने कानुन बनाएका छौं।' आर्थिक समृद्धिको बाटोमा देशलाई लैजान कानुन निर्माण गरेर कार्यान्वयन गर्ने कुरामा सरकार प्रतिबद्ध रहेको उनले बताए।

प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  २०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update