Harsamaya
नख्खुडोल पुल मर्मत नहुँदा यात्रा जोखिमपूर्ण
गत असोज १२ गते आएको बाढीले क्षतिग्रस्त बनाएको ललितपुर महानगरपालिका–१४ को नख्खुडोल र वडा नं १५ को सैँवु जोड्ने नख्खु खोला पुल।

ललितपुर - बाढीबाट क्षति पुगेको नख्खुडोल पुलमर्मत नहुँदा स्थानीयहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । ललितपुर महानगरपालिका–१४ को नख्खुडोल र वडा नं १५ को सैँवु जोड्ने नख्खु खोला पुल गत असोज १२ गते आएको बाढीले क्षतिग्रस्त बनेको थियो ।

बाढीले प्वाल पारेको पुल फलामको सहायताले दुई पाङ्ग्रे सवारी गुड्न सक्ने गरी अस्थायीरूपमा एकतर्फी सञ्चालनमा ल्याइएको छ । ललितपुर महानगरपालिका–२५ का स्थानीय उमेश थापा नख्खुडोल पुल भत्केपछि करिब डेढ किलोमिटर पश्चिमतर्फको नख्खु पुल हुँदै यात्रा गर्नुपर्ने बाध्यता थपिएको सुनाउँछन् । 

साँघुरो पुलमा अहिले प्रायःजसो दुईपाङ्ग्रे सवारी साधानको जाम हुने गरेको छ । नख्खुडोलका स्थानीय कमल राईले कार्यालय समयमा पुलमा अत्याधिक जाम हुँदा समस्या भइरहेको बताए । 

उनले भने, “बाढीले क्षति गरेको चार महिना बित्न आँटिसक्यो, अहिलेसम्म जीर्ण अवस्थामा रहेको नख्खुडोल पुल अझै मर्मत भएको छैन । यसले गर्दा आवातजावत गर्न निकै असहज भएको छ ।”
 
पुल मर्मतका लागि ललितपुर महानगरपालिकाले रु ६७ लाख विनियोजन गरेको छ । ललितपुर महानगरपालिका–२५ का वडाध्यक्ष दौलतकुमार खत्रीले पुल मर्मत चाँडै सुरु गरिने बताए । 

ललितपुर महानगरपालिका–१४ का वडाध्यक्ष अमृत महतले ठेक्का प्रक्रियामा केही ढिलाइ भएकाले पुल मर्मतमा विलम्ब भएको स्वीकार गरे । उनले भने, “अहिले अस्थायी रुपमा मोटरसाइकल आवातजावत गर्न मिल्ने बनाइएको छ । पुल मर्मतमा ढिलासुस्ती हुँदा स्थानीयलाई आवातजात गर्न असहज भएको पक्कै हो, अब छिट्टै समस्याको समाधान हुन्छ ।”

प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  २०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update