Harsamaya
गुल्मी भार्सेका किसान व्यावसायिक किवीखेतीमा आकर्षित
किवी तस्वीर: हर समय/ Har Samaya

गुल्मी - गुल्मीमा व्यावसायिक किवीखेतीमा किसानको आकर्षण बढ्दै गएको छ । जिल्लाको सत्यवती गाउँपालिका– ८ अन्तर्गत भार्सेका किसानले किवी बिक्री गरेर वार्षिक ८० लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् ।

०६५ सालदेखि किवी लगाउन थालेका त्यहाँका किसानको बारी यतिवेला किवीका लहराले ढपक्कै ढाकेको छ । भार्सेका किसानले यतिवेला किवीको व्यावसायिक उत्पादन सुरु गरेपछि उनीहरूको आर्थिकस्तर समेत वृद्धि हुँदै जान थालेको छ ।

जिल्लामा सबैभन्दा धेरै किवी उत्पादन गर्ने पालिकामा सत्यवती गाउँपालिका पर्छ । सत्यवतीको भार्सेमा हाल ४० हेक्टर क्षेत्रमा किवीको व्यावसायिक रूपमा उत्पादन हुँदै आएको छ । यो वर्ष त्यहाँका किसानले ८० टनभन्दा बढी किवी उत्पादन गरेको स्थानीय किसान एवं वडासदस्य यमबहादुर थापाले जानकारी दिए ।

भार्सेमा उत्पादित किवी स्थानीय बजार तथा पाल्पा र बुटवलसम्म पुग्ने गर्छ । बजारमा उपलब्ध किवीको तुलनामा भार्सेमा उत्पादित किवीको औसत मूल्य दुई सय छ । यहाँका किसानको मुख्य आम्दानी यतिवेला किवीखेती बनेको छ ।

सत्यवती गाउँपालिकाले भार्सेलाई किवीको पकेट क्षेत्र घोषणा गरेसँगै किवी उत्पादनमा स्थानीयको आकर्षण बर्सेनि बढ्दै गएको हो । किवीखेतीको व्यावसायिक उत्पादनका लागि किसानलाई गाउँपालिकाबाट प्राविधिक सहयोगदेखि तालिम, बिरुवा, पोल निर्माण र सिँचाइलगायत क्षेत्रमा सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष टीकाराम सापकोटाले बताए । यस वर्ष पनि गाउँपालिकाबाट नर्सरी स्थापना, बगैँचा व्यवस्थापनसँगै किवीको जाम र वाइन बनाउने तालिम प्रदान गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले जानकारी दिए ।

भार्सेका किसान यमबहादुर थापाले व्यावसायिक रूपमा किवीखेती गर्दै आएका छन् । उनले लगाएका १५० बोटमध्ये १३० बोटले फल दिन थालेको बताए । यसपटक थापाले २५ क्विन्टल किवी स्थानीय बजार हुँदै पाल्पा र बुटवलसम्म बिक्रीका लागि पठाइसकेका छन् ।

गत वर्षको तुलनामा यसपटक उत्पादन बढेसँगै किवीको मूल्य घटेको उनको भनाइ छ । उनको बारीमा ‘रेडकिवी’, ‘हेवार्ड’, ‘एलिसन’, ‘ब्रुनो’ गरी चार जातका किवी रहेका छन् । अन्य खेतीको तुलनामा किवीबाट राम्रो आम्दानी हुने उनको अनुभव छ । यीमध्ये एलिसन जातको किवी मीठो र स्वादिलो हुने थापाले बताए ।

सिजनमा भार्सेका बारी किवीले ढपक्कै ढाकिएका हुन्छन् । किवीको बिरुवाले रोपेको तीन वर्षबाटै फल दिन सुरु गर्दछ । यसले एउटै बोटबाट ६० देखि १२० किलोसम्म फल दिने गरेको वडाध्यक्ष होमबहादुर रानाले बताए । किवी बढी झुसिलो हुने भएका कारण पनि अन्य वन्यजन्तु टाढै बस्ने गरेको बताइएको छ ।

जिल्लामा एक हजार दुई सय मिटरदेखि दुई हजार मिटर उचाइसम्म किवीखेती गरिँदै आएको छ । गुल्मीमा सत्यवती गाउँपालिकालगायत कालीगण्डकी, मदाने, मालिका, धुर्कोट, छत्रकोटलगायत पालिकामा किवीको व्यावसायिक खेती गर्न थालिएको छ ।

किवी फल एक स्वस्थ र स्वादिष्ट फल मानिन्छ । किवीमा भिटामिन ‘सी’ धेरै हुने भएका कारण यसले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ । यसमा फाइबरसमेत पाइने भएकाले पाचन प्रक्रियालाई पनि राम्रो बनाउन मद्दत गर्छ । यसलाई जुस बनाउन र सलादका रूपमा प्रयोग गर्ने गरिन्छ । यो फलमा धेरै पौष्टिक तत्त्व भएका कारण सबै उमेर समूहका व्यक्तिका लागि उपयुक्त मानिन्छ । 

प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  ०८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update