काठमाडौँ - गत मंगलबार चीनको स्वशासित क्षेत्र तिब्बतको तिंग्री काउन्टीका भूकम्पपीडितलाई ल्हासास्थित नेपाली महावाणिज्य दूतावासको सहजीकरणमा त्यहाँ रहेको संस्था नेपाली दुःख निवारण कल्याण कोषले ल्हासामा बसोबास गरिरहेका नेपाली समुदायबाट संकलन भएको रु. ३७ लाख १७ हजार ५३० प्रदान गरिएको छ ।
ल्हासास्थित रेडक्रस कार्यालयमा आज आयोजित कार्यक्रममा कल्याण कोषका अध्यक्ष कुञ्जो धार्के नेपालीले ल्हासा रेडक्रसका प्रमुख लियो यिदोङलाई सहायता रकम हस्तान्तरण गरेका हुन् ।
ल्हासास्थित महावाणिज्य दूतावासका अनुसार सहायता रकम ग्रहण गर्दै अध्यक्ष लियोले महावाणिज्य दूतावास, कल्याण कोष र नेपाली समुदायप्रति आभार व्यक्त गरेका थिए । त्यस अवसरमा अध्यक्ष लियो र महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाबिच नेपाल–चीन सम्बन्धका विविध पक्षमा छलफल भएको थियो ।