हालका दिनमा मानव बेचविखन एवं अन्य आपराधिक गतिविधिमा सङ्लग्न गिरोहले नेपाली नागरिकलाई कम्बोडिया, लाओस र म्यानमारमा लगेर जबरजस्ती अवैध कार्यमा लगाउने, रोजगारदाताले राहदानी खोसिदिने, १२–१३ घण्टासम्म काममा लगाउने, चरम यातना दिने, तलब नदिनेलगायत समस्या बढेका छन् । यस विषयमा जानकारी गराउँदै नेपाली दूतावास याङ्गुन र बैंककमा उद्धारका लागि आवेदन गर्ने नेपालीको सङ्ख्या उल्लेखनीय रूपमा बढोत्तरी भइरहेको घटनाप्रति मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयले वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै प्रकृतिका अन्य प्रलोभनमा पारी ठूलो रकम लिई कुनै व्यक्तिलाई विदेशमा पुर्याई अलपत्र पार्ने एवं निषेध गरिएका कार्यमा सङ्लग्न नहुन वा त्यस्ता गैरकानुनी कार्य नगर्न/नगराउन र यसतर्फ सचेत रहन सबैमा अनुरोध गरेको छ ।
साथै मन्त्रालयले अनलाइन जुवा, कल सेन्टर–फ्रड, क्रिप्टो–करेन्सी ठगी आदिमा सङ्लग्न शंकास्पद आइटी फर्मले बैंककमा रोजगारीका अवसरको प्रलोभन देखाई युवालाई ठगी गरिरहेको र पीडितलाई गैरकानुनी रूपमा बैंकक हुँदै कम्बोडिया, लाओस र म्यानमार लगी बन्दी बनाएर काम गर्न लगाइएको पाइएकाले त्यस्ता प्रलोभनमा नपर्न आग्रह गरेको छ ।
उल्लिखित विषयलगायत सम्बन्धमा कुनै जानकारी लिनुपरेमा नेपाली दूतावास, याहुनका द्वितीय सचिव गंगा सुन्दासको टेलिफोन नम्बर +९५–०१–९५४५८८०/०१– ९५५७१६८ र हटलाइन/भाइबर/वाट्सएप नं +९५ ९२५१२४२०५१ तथा नेपाली दूतावास, बैंककका प्रथम सचिव खगराज पाण्डेको टेलिफोन नम्बर +६६८६९९१५५५४ (वाट्सएप)लाई सम्पर्क गर्न हुन अनुरोध गरिएको छ ।
यसअघि थाइल्याण्ड र म्यानमारमा प्रलोभन देखाई नेपालमा रहेका तथा वैदेशिक रोजगार र अध्ययनको सिलसिलामा युएईलगायतका मुलुकमा रहेका नेपालीलाई थाइल्याण्डको बैंकक र याङ्गुनको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराई विभिन्न माध्यमबाट म्यान्मारको कायिन प्रान्तको म्यावडीमा लगी जबरजस्ती अवैध कार्यमा लगाइएको घट्ना सार्वजनिक भएको थियो ।
उक्त विषयका सन्दर्भमा मन्त्रालयबाट विसं २०७९ पुसमा यात्रासम्बन्धी सूचना जारी गरेपछि प्रलोभनमा परी उक्त क्षेत्रमा जाने नेपाली नागरिकको सङ्ख्यामा कमी आएको थियो ।