Harsamaya
‘जलवायु परिवर्तनबाट उत्पन्न विपत्तिको सजाय नेपालले भोग्नुपरिरहेको छ’
परराष्ट्रमन्त्री डा आरजु राणा देउवा

काभ्रेपलाञ्चोक - परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण नेपालमा बेमौसमी विपत्ति आएको बताएकी छिन् । सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालद्वारा आज यहाँ आयोजित ब्लाङ्केट वितरणमा उनले बेमौसमी विपत्तिका कारण नेपालले जनधनको क्षतिको जोखिम भोग्दै छ भनिन्। 

उनले भनिन्, “जलवायु परिवर्तनको असरका कारण नेपालमा बर्षायाम सकिएपछि गएको असोजमा बेमौसमी बाढीपहिरो आयो, यो विपत्ति ल्याउन नेपालले कुनै बातावरणीय प्रभावका काम गरेको छैन, गल्ती नगर्दा पनि अन्य देशका कारण भएको जलवायु परिवर्तनको असरले निम्त्याएको विपत्तिले जनधनको क्षति ब्यहोर्नुपर्यो ।” नेपालको कारण जलवायु परिवर्तन नभएको तर, अन्य देशका कारण नेपालले पनि क्षति ब्यहोर्नुपरेकाले आफूले अन्तराष्ट्रिय फोरममा यसबारे विषय उठान गर्दै आएको उनले व्यक्त गरिन् 

मन्त्री राणाले नेपालमा भएको विपत्तिको क्षति कस्ले तिर्ने प्रश्न गर्दै उनले भनिन्, “गर्दै नगरेको गल्तीको सजाय नेपालीले भोग्नुपर्ने, यसको क्षतिपूर्ति कस्ले तिर्छ ?” उहाँले जलवायु परिवर्तनका कारण पानी स्रोत सुक्दै जाने भएकाले अबका पुस्ता–सन्ततिलाई निकै गाह्रो हुने बताइन् ।  “म मेरो सन्तानलाई जन्म दिने बेलामा जुन प्रसव पीडाबाट गुज्रिए, मर्छु कि बाँच्छु भन्ने अवस्थामा पुगेको थिए”, उनले थपिन् “म र मेरो सन्तान त बाच्यो तर, यस्तै पीडा सहन बाध्य हुने महिला बाँच्न सक्लान् कि नसक्लान् भनेर यो अभियानमा जोडिएको थिएँ ।” 

मन्त्री राणाले सो अवसरमा जिल्लाको पनौती र नमोबुद्ध नगरपालिका तथा रोशी, बेथानचोक, भुम्लु र तेमाल गाउँपालिकामा एक हजार ९० ब्लाङ्केट सम्बन्धित तहका जनप्रतिनिधिलाई हस्तान्तरण गरेकी थिइन् । ती स्थानीय तहमा रहेका गर्भवती तथा सुत्केरी महिलाको सङ्ख्याका आधारमा ब्लाङ्केट बितरण गरिएको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  २२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update