Harsamaya
रास्वपाका सभापति लामिछानेसहित ६ प्रतिवादीले कति बुझाए धरौटी ?
रास्वपाका सभापति लामिछानेसहित ६ प्रतिवादीले कति बुझाए धरौटी ?

गण्डकी - पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित छ जनाले धरौटी रकम बुझाएका छन् । 

लामिछानेसँगै छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ, मीना गुरुङ र आरती गुरूङले धरौटी रकम बुझाएको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । स्रेस्तेदार खनालका अनुसार धरौटी रकम बुझाएसँगै उनीहरू रिहा भएका छन् । 

न्यायाधीश नितिज राईको इजलासले आज सभापति लामिछानेलाई ६५ लाख, छविलाल जोशीलाई ८८ लाख, लीला पछाईंलाई ३७ लाख, मीना गुरुङलाई पाँच लाख, रामबहादुर खनाललाई १५ लाख, आरती गुरुङलाई पाँच लाख र कृष्णबहादुर गुरुङलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । प्रतिवादी लीला पछाईंले भने आज धरौटी रकम बुझाउन नसकेपछि हिरासतमै रहने अदालतले जनाएको छ ।

लामिछानेविरूद्ध काठमाडौँमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले पार्टी र परिवारको जिम्मा लगाइने, शुक्रबार उनी आफैँ काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने जनाइएको छ । अदालतमा १० दिनसम्म भएको थुनछेक बहसपछि प्रतिवादीहरुलाई धरौटीमा रिहा गर्न आदेश आएको हो ।

यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले उक्त सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । सरकारी वकिल कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध मुद्दा चलाएको छ । धरौटीमा रिहा भएका प्रतिवादीहरूको मुद्दामा थप अनुसन्धान हुने स्रेस्तेदार खनालले बताए ।

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  २२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update