प्रधानमन्त्री ओलीले सात बुँदे सहमतिको अपमान गरे :अर्जुननरसिंह केसी
काठमाडौं - नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले सात बुँदे सहमतिको अपमान गरेको टिप्पणी गरेका छन् ।
पृथ्वी जयन्तीका सन्दर्भमा बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा केसीले प्रधानमन्त्री ओलीले २०८७ मा मात्रै संविधान संशोधन हुन्छ भन्नु सात बुँदे सहमतिकै अपमान भएको बताएका हुन् ।
संविधान संशोधनका लागि अन्तिम निष्कर्ष जहिले निस्केपछि त्यसको प्रारम्भ भने अहिलेदेखि नै गर्नुपर्ने उनले बताए । केसीले संविधान संशोधनका लागि संसदभित्र रहेका दलमात्रै नभइ स्वपक्षसँग पनि सहकार्य गर्नुपर्नेमा जोड दिए । दुई दलले मात्रै संविधान संशोधन गर्न नसक्ने भए सर्वदलीय संयन्त्र गठन गर्न उनले सुझाव दिए ।
एमाले अध्यक्ष ओलीले पार्टीको केन्द्रीय कमिटी बैठकमा २०८७ को माघमा मात्रै संविधान संशोधन हुने अभिव्यक्ति दिएका थिए । यसअघि बुधबार झापामा आयोजित एक कार्यक्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले समेत उक्त अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए ।
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१ १५:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय