Harsamaya
नाफिज सदस्यको जनही सात लाखको दुर्घटना बिमा
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का सदस्यहरूको १६ करोड बराबरको ‘सामूहिक दुर्घटना बिमा’ गरेपछिको सामूहिक तस्वीर । तस्वीर : नेपाल आर्थिक पत्रकार संघ (नाफिज)

काठमाडौं - नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का सदस्यहरुको साँढे रु १६ करोड बराबरको ‘सामूहिक दुर्घटना बिमा’ भएको छ । नाफिजले आफ्ना दुई सय ३५ जना सदस्य तथा सल्लाहाकारको जनही रु सात लाखका दरले सामूहिक दुर्घटना बिमा गराएको हो ।

आज दुई वटा निर्जीवन बिमा कम्पनी र नाफिजबीच सामूहिक दुर्घटना बिमासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । नाफिजले सगरमाथा लुम्बिनी इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्यारेन्समा सदस्यको सामूहिक दुर्घटना बिमा गराएको हो ।

कुल बिमांक रकम रु १६ करोड ४५ लाख रहेको छ । सम्झौतामा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री, सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्रबहादुर वैदावर र नाफिजका अध्यक्ष मेनुका कार्कीले हस्ताक्षर गरेका छन् । 

सम्झौताअनुसार नाफिजका हरेक सदस्यको प्रतिव्यक्ति रु सात लाखका दरले दुर्घटना बीमा भएको छ । 

नाफिजका अध्यक्ष कार्कीले हरेक दिन ‘फिल्ड’मा खटिनुपर्ने पत्रकार विभिन्न खालका दुर्घटनाको जोखिममा हुने भएकाले त्यस्तो जोखिम बहन गर्न आफ्ना सदस्यको बीमा गराइएको बताए । 

सम्झौता कार्यक्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले दुर्घटना बिमाले पत्रकारको सामाजिक सुरक्षाको सुनिश्चितामा सहयोग पुग्ने र विश्वसनीय सूचना प्रवाहमा थप योगदान पुग्ने विश्वास व्यक्त गरे । 

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वैदावरले नाफिजले आफ्ना सदस्य पत्रकारहरुको बिमा गराएर पत्रकारहरुलाई फिल्डमा खटिन थप प्रोत्साहन गरेको बताए ।

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  २१:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update