Harsamaya
पोखराका तालहरूमा ५३ प्रजातिका जलपक्षी
पोखरा बर्ड सोसाइटीद्वारा पोखरा उपत्यकाको एशियाली जलपक्षी गणना र ३० जना स्वयंसेवकहरूको तस्वीर।

गण्डकी - पोखरा उपत्यकाका रामसार सूचीमा सूचीकृत नौवटा तालमा गरिएको जलपक्षी गणनामा ५३ प्रजातिका जलपक्षी फेला परेका छन् ।

टाइगर माउण्टेन पोखरा लज र पोखरा पक्षी समाजको अगुवाइमा ४३ स्वयंसेवक गणकबाट यही पुस २२ र २३ गते जलपक्षी गणना गरिएको पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिए । 

सिमसार क्षेत्रमा रैथाने र आगन्तुक चराको विवरण सङ्ख्याको अध्यावधिक, संरक्षणमा स्थानीय समुदायलाई सहभागी बनाइ सचेतना अभिवृद्धि गर्न सन् २००४ बाट पोखरा उपत्यकामा जलपक्षी गणना गरिँदै आइएको छ ।

उनका अनुसार पोखरा उपत्यकाभित्रका फेवा, बेगनास, रूपा, मैदी, दिपाङ, गुंदे, खास्टे, न्यूरेनी ताल र कमल पोखरी तथा विजयपुर खोला करिडोरमा जलपक्षी गणना गरिएको थियो । 

गणनाका क्रममा फेवातालमा ५२ प्रजातिका दुई हजार १२ जलपक्षी फेला परेका छन् । त्यस्तै बेगनास तालमा १४ प्रजातिका एक सय ५८, रुपा तालमा २६ प्रजातिका तीन सय ६४, गुँदे तालमा १३ प्रजातिका तीन सय एक, खास्टे र न्युुरेनी तालमा १६ प्रजातिका एक सय ८९, दिपाङमा १३ प्रजातिका दुई सय १७, मैदीमा १० प्रजातिका एक सय २१, कमल पोखरीमा पाँच प्रजातिका १४ र विजयपुर खोलामा १० प्रजातिका ४३ जलपक्षी भेटिएका छन् ।

गणनाका क्रममा फेवा र दिपाङग तालमा चराको सङ्ख्या केही वृद्धि भएको, रुपा र मैदीमा बराबर तथा अन्यमा घटेको छ ।

सन् १९८७ देखि नेपालमा नियमित रुपमा हुँदै आएको एशियाली जलपक्षी गणनाले देशको जैविक विविधता संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको चरा विज्ञ झलक चौधरीले जानकारी दिए ।


 

 

 

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  २१:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update