
विराटनगर - मोरङको विराटनगर महा नगरपालिका १३ स्थित एक किराना पसलमा नक्कली भारतीय नोट प्रयोग गर्न खोज्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकी व्यक्ति भारत विहार राज्यको अररिया जिल्लाकी १९ वर्षीया सिम्पी बसन्ती रहेको प्रहरीले जनाएको छ।
वैशाख १६ गते सामान किन्ने क्रममा सिम्पीले भारतीय ५ सय रुपैयाँको नोट पसलेलाई दिएकी थिइन् । सो नोट नक्कली भएको शंका लागेपछि पसल धनीले तत्काल प्रहरीलाई जानकारी गराएका थिए।
सूचनापछि इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले सिम्पीको साथमा जाँच गर्दा भारतीय ५ सय दरका ७ थान नक्कली नोट र नेपाली ३ हजार १ सय रुपैयाँ फेला परेको थियो।
प्रहरीका अनुसार उनलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही अगाडि बढाइएको छ। साथै, नक्कली नोटको स्रोत र संलग्न अन्य व्यक्तिबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।