Harsamaya
भारतबाट नेपालका प्रतिगामी शक्तिहरूलाई उक्साउने गतिविधि भएको छैन : डा. भट्टराई
पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराई ।

काठमाडौं - पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले भारत सरकारबाट नेपालका प्रतिगामी शक्तिहरूलाई उक्साउने गतिविधि नभएको बताएका छन् । 

मंगलबार भारत भ्रमणबाट स्वदेश फर्किएका डा.भट्टराईले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भारत सरकार र भारतका मुख्य शक्तिहरूबाट यहाँको व्यवस्थालाई नै उल्ट्याउने ढंगले प्रतिगामी शक्तिहरूलाई उक्साउने गतिविधिमा नभएको बताएका हुन् । 

उनले भने,‘भारतमै चासो भएको विषय के रहेछ भने जुन भिन्न प्रकृतिका आन्दोलन भइरहेका छन् । त्यो कतै व्यवस्थाकै विरुद्धमा जाने आन्दोलन त होइन यो यसले लोकतन्त्रलाई नै प्रतिकूल असर पर्नेगरी पछाडि फर्कने ढंगले त जाँदैन भन्ने आशंका चै रहेछ । हाम्रो व्यवस्था सुरक्षित छ भन्ने विश्वास गराएको छु । त्यहाँ केही व्यक्तिहरू त्यसमा लागेको हुनसक्छ । तर भारत सरकार आफैँ र । त्यहाँको मुख्य शक्तिहरूको फेरि यहाँको व्यवस्थालाई नै उल्ट्याउने ढंगले प्रतिगामी शक्तिहरूलाई उक्साउने गतिविधि त्यहाँबाट भएको छैन । हुन सक्दैन, त्यसले लाभ गर्दैन । भन्नेकुरा नै आयो । हामीलाई अनावश्यक ढंगले भ्रम छरेर प्रतिगामी शक्तिहरु त आइहाल्ने हो की, भोलि नै आइहाल्ने हो की भन्नेकुरा सत्य होइन ।’

उनले नेपाल भारतको सम्बन्धको ऐतिहासिकतालाई कुनै पनि ढंगले अल्झिएर समय खेर नफाली वार्ताबाट समस्या हल गरेर जानुपर्ने बताए । उनले समस्याहरू समाधान गर्न इपिजीले काम गर्न सकेको र नयाँ विधि अपनाएर समस्या समाधान गर्नुपर्ने कुरामा जोड दिएको बताए । 

‘नेपाल—भारत सम्बन्धको जुन ऐतिहासिकता छ, त्यसलाई हामीले कुनैपछि ढंगले अल्झिएर समय खेर फाल्नु हुँदैन । बाँकी रहेका समस्यालाई वार्ता, संवादबाटै हल गरेर जानुपर्छ । त्यसका निम्ति इपिजी नै सम्बन्ध राम्रो उपाय थियो । तर त्यो विषयमा बुझ्दा के देखियो भने इपिजीले काम गर्न सकेन भन्ने कुरा त्यहाँको उच्च तहसम्म करिब करिब निर्णय जस्तै भइसकेको रहेछ । इपिजी स्वीकार्य नभएको अवस्थामा त्यसमा किचलो गर्नुको सट्टा अर्को विधि खोज्नुपर्छ भन्ने कुरा आयो । त्यसो हो भने उच्च तहका नेताहरू प्रधानमन्त्री तहमै वार्ता र संवाद हुनुपर्छ भन्ने कुरा गरेको छु । दुवै तर्फबाट एउटा वातावरण बनाउन हामी लाग्नुपर्छ । यसलाई गिजोलेर हामीलाई फाइदा हुँदैन । यो हल नहुँदा हामीलाई नै घाटा बढिरहेको छ । त्यसैले हामीले नै धेरै अन्य कुरा पछि हल गर्ने ढंगले नेपालको अर्थतन्त्रमा परेका असरका विषयहरू, खुला सीमानाले पारेका समस्याका कुराहरू छन् । त्यसमा समाधान दिनुपर्छ,’उनले भने । 


 

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  २१:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update