Harsamaya
मुख्यमन्त्री कमलबहादुर शाहसहित १० सदस्यीय टोली भारत भ्रमणमा जाँदै
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ।

काठमाडौं -  भरत सरकारको निमन्त्रणामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह आज १०जना सदस्य सहित भारत भ्रमणमा जाँदै छन् । नेपालमै पहिलो पटक भारत सरकारको औपचारिक निमन्त्रणामा प्रदेश सरकारको टोली भ्रमणमा जान लागेको हो ।

मुख्यमन्त्री नेतृत्वको भ्रमण टोलीमा प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी, नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रमुख सचेतक नरेशकुमार शाही छन् ।

यसैगरी नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य झपट बहादुर साउँद, नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारी, प्रदेशका मुख्य सचिव डा. कमलप्रसाद पोखरेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बम, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा. जितु उपाध्याय र स्वकीय सचिव रामबहादुर विष्ट पनि भ्रमण टोलीमा सहभागी छन् । उनीहरू भारत भ्रमण सकेर वैशाख २२ गते लखनउबाट स्थल मार्ग हुँदै कैलाली फर्किने छन् ।

काठमाडौंबाट हवाई मार्ग भएर दिल्ली जाने मुख्यमन्त्री शाह नेतृत्वको टोलीले दिल्लीमा संघीय मन्त्रीसँग भेटघाट गर्ने र विवेकानन्द अन्तर्राष्ट्रिय फाउण्डेसन संघसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । भारतमा रहँदा भारतीय कृषि अनुसन्धान संस्थाको अवलोकन भ्रमण, अयोध्याको धार्मिक पर्यटकीय क्षेत्रको भ्रमण, देहरादुनका कृषि क्षेत्र सहित पर्यटकीय क्षेत्रको भ्रमण, उत्तराखण्ड मुख्यमन्त्री र कृषि मन्त्रीसँग समेत भेटघाटको कार्यसूची रहेको प्रदेश सरकारले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update