Harsamaya
सर्लाहीका प्रशासकीय अधिकृतसहित ९ जना विरुद्ध  भ्रष्टाचार मुद्दा

काठमाडौं -अख्तियार दुरुपयोग अनुसन्धान अयोगले सर्लाहीको धनकौल गाउँपालिकाका प्रशासकीय अधिकृत कृष्ण मोहन प्रसाद साहसहित ९ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्धा दायर गरेको छ ।

अखितयारले धनकौल गाउँपालिका–६ स्थित कृषि बाटो निर्माण गर्दा भ्रष्टाचार भएको भन्दै प्रशासकीय अधिकृत साह, वडाध्यक्ष श्याम बाबु साह, पालिकाका इन्जिनियर उपेन्द्रप्रसाद साह, सहायक पाँचौँ मोहम्मद रिफक, सब इन्जिनियर शशि रञ्जनकुमार सिंह, लेखापाल अभयकुमार साह, उपभोक्ता समितिका अध्यक्ष वोपेन्द्र राय, सचिव इनरजित साह कानू, कोषाध्यक्ष सुरतीय कुमारीविरुद्ध मुद्धा दर्ता गरेको हो । 

कृषि बाटो निर्माण कार्यमा आर्थिक वर्ष २०८०÷०८१ को प्राविधिक इष्टिमेट बमोजिम काम नगरी मिलेमतो गरी रकम अनियमितता गरेको निष्कर्षसहित अख्तियारले उनीहरूलाई जनही सात लाख ७९ हजार २०५ रुपैयाँ बराबर बिगो तथा कैद सजाय माग गरेको छ । 

कृषि बाटो निर्माण योजनामा मिलेमतो गरी तोकिएको सर्त सम्झौता विपरीत फिल्डमा भएको वास्तविक कार्य भन्दा बढी काम भएको गरेको नापी किताब, कार्य सम्पन्न प्रतिवेदनमा देखाइएको हो । गलत प्रतिवेदनमा  झुट्टा बिल भरपाई बनाई ७ लाख ७९ हजार भन्दा बढी रकम भुक्तानी दिई रकम हिनामिना गरी भ्रष्टाचार गरेको पुष्टि हुन आएको अयोगले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  ०७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update