सिरहा - मधेसका विभिन्न जिल्लामा चोरी र डकैतीका घटनामा संलग्न भारतीय नागरिक आरिफ खान (आरिफ हुसैन)लाई सिरहाबाट पक्राउ गरिएको छ। प्रहरीले शनिबार नेपाल भारत सीमाक्षेत्रबाट उनलाई गिरफ्तार गरेको हो।
जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी नायब उपरीक्षक वीरेन्द्र पासवानका अनुसार हुसैनविरुद्ध नेपाल र भारतका विभिन्न स्थानमा डकैती, लुटपाट र सङ्गठित अपराधका मुद्दा दर्ता छन्। उनी महोत्तरीको एनएमबि बैंक लुटपाट र सिरहाको मिर्चैया नगरपालिका–३ स्थित ग्लोबल आइएमई बैंकका कर्मचारीबाट ९ लाख लुट्नमा संलग्न थिए।
प्रहरीको अनुसन्धानले उनलाई अन्य धेरै डकैती र चोरीका घटनामा पनि संलग्न भएको खुलासा गरेको छ। हुसैन भारतमा बसी नेपालमा अपराध गर्ने एक सङ्गठित डाँका समूहका नाइके रहेका छन्। भारतीय प्रहरी पनि हुसैनको पक्राउमा सक्रिय रहेको र उनकाबारे सूचना दिने व्यक्तिलाई २५ हजार पुरस्कार दिने घोषणासमेत गरेको थियाे।