
ललितपुर- ललितपुर महानगरपालिकाले मङ्गलवार देखी सबै सामुदायिक विद्यालय सञ्चालन गर्न आग्रह गरेको छ । महानगरपालिकाले सामुदायिक विद्यालयलाई पत्राचार गर्दै विद्यार्थी भर्ना लगायतका शैक्षिक क्रियाकलाप हालसम्म पनि सञ्चालन हुन नसक्दा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको भन्दै विद्यालय सञ्चालन गर्न आग्रह गरेको हो ।
गत बिहीबार सर्वोच्च अदालतले देशभरका बालबालिकालाई विद्यालयमा नियमित पठनपाठन गर्न पाउने हकबाट वञ्चित नगर्नु, नगराउनु भनी अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चले तीन दिनभित्र आदेश कार्यान्वयन गर्न समेत भनेको थियो । सर्वाेच्चकाे साेही आदेश बमोजिम मङ्गलवार देखी महानगरभित्रका सबै सामुदायिक विद्यालयमा पूर्ण रूपमा पठनपाठन क्रियाकलाप सञ्चालन गर्न महानगरले आग्रह गरेको हो ।
महानगरपालिकाले शिक्षकहरूको सहभागितामा शैक्षिक सत्र २०८२ को शैक्षिक कार्य पात्रो प्रकाशन गरी कार्यान्वयनमा ल्याएको उल्लेख गरेको छ । तर, उक्त कार्य पात्रो बमोजिम विद्यार्थी भर्ना लगायतका शैक्षिक क्रियाकलाप हालसम्म पनि सञ्चालन हुन नसक्दा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको प्रवक्ता राजु महर्जनले सामुदायिक विद्यालयलाई गरेको पत्राचारमा भनिएको छ ।