
काठमाडौं - पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको अनियमितता छानबिनका लागि गठित उपसमितिले विमानस्थल निर्माणको क्रममा १० अर्ब भ्रष्टाचार भएको निष्कर्ष सहितको प्रतिवेदन बुझाएको छ । संसदीय उपसमितिका संयोजक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई प्रतिवेदन बुझाएका हुन् ।
उपसमितिले पोखरा विमानस्थल बनाउन नीतिगत निर्णयको आवरणमा भ्रष्टाचार गरेको निष्कर्ष निकालेको छ । २०८१ असार १४ गते सार्वजनिक लेखा समितिले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन अनुगमन गरी छानबिनका लागि दुई छुट्टाछुट्टै उपसमितिहरू गठन गरेको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन अनुगमन गर्न बनेको उपसमितिले आज प्रतिवेदन बुझाएको हो ।
उपसमितिमा सांसदहरू दाहाल, अर्जुननरसिंह केसी, गोकुलप्रसाद बास्कोटा, जनार्दन शर्मा, प्रेमबहादुर आले, तारा लामा, तेजुलाल चौधरी, दीपक गिरी, देवप्रसाद तिमिल्सिना, रामकृष्ण यादव र रुक्मणि राना सदस्य छन् । प्रतिवेदनमा उपसमितिकै सदस्य गोकुल बास्कोटाले फरक मत राखेका छन् ।
२४ अर्ब लगानी भएको पोखरा विमानस्थल २०७९ पुसमा निर्माण सम्पन्न भएर उद्घाटन भएको थियो ।