Harsamaya
शिक्षक आन्दोलनबारे संसदमा प्रतिपक्षी दलहरूको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव
संसदमा विपक्षी दलका सांसदहरूले शिक्षकका माग सम्बोधनका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव लगेका छन् ।

काठमाडौं - संसदमा विपक्षी दलका सांसदहरूले शिक्षकका माग सम्बोधनका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव लगेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे  प्रस्तावक र समर्थकमा रास्वपा प्रमुख सचेतक सन्तोष परियार, एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवर, आम जनता पार्टीका सांसद प्रभु शाह, राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी छन् । 

सरकार र नेपाल शिक्षक महासंघबिच विगतमा भएका सम्झौताहरू कार्यान्वयनको लागि महासंघको आव्हानमा २७ औं दिनसम्म जारी रहेको शिक्षक सडक आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको प्रस्तावमा उल्लेख छ ।

प्रस्तावमा  भनिएको छ । ‘समग्र शिक्षा क्षेत्रको उन्नयनका लागि महत्त्वपूर्ण मागहरू राखी स्थानीय तह, प्रदेश र राजनीतिक दलका केन्द्रीय कार्यालयहरू हुँदै शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा रिले अनशन पश्चात् काठमाडौं केन्द्रित शिक्षक आन्दोलनप्रति सरकारको कुनै पनि गम्भीर्यता पाइएन ।’ विद्यालय शिक्षा जस्तो महत्त्वपूर्ण विषयप्रति सरकारले वेवास्ता गरि  गैर जिम्मेवार भएको भन्दै  संसदमा छलफल आवश्यक रहेको प्रस्तावमा भनिएको छ । 

 नेपाल सरकार र नेपाल शिक्षक महासंघबिच गरिएका सम्झौताहरू कार्यान्वयन गराउन, सार्वजनिक विद्यालयहरूलाई गुणस्तरीय बनाउन,  लाखौँ विद्यार्थीहरूको पठन–पाठन सुचारु गर्न, गराउन, निर्धारित समयमा परीक्षा सञ्चालन गर्न, चिकित्सा शिक्षा आयोगले गरेको निर्णय कार्यान्वयन गराउन, र स्वास्थ्य सेवालाई गुणस्तरीय र सुलभ बनाउन  छलफल आवश्यक रहेको औँल्याएका छन् । 

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update