काठमाडौं - नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले शान्तिपूर्ण रूपमा आन्दोलनमा बसिरहेका शिक्षकहरूमाथि सरकारले दमन गरेको बताएका छन् ।
सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले शिक्षकहरूका माग पूरा गर्नुको सट्टा किन दमन गरिरहेको छ भन्दै प्रश्न गरेका हुन् ।
उनले भने, ‘शिक्षकहरू आन्दोलनमा हुनुहुन्छ । हिजो मात्रै शान्तिपूर्ण शिक्षकहरूको आन्दोलनमा सरकारले दमन गर्यो । शान्तिपूर्ण रूपमा बसिरहेको शिक्षकहरूमाथि पानीको फोहोरा, अश्रुग्याँस, लाठ्ठि प्रहार गरेर दर्जनौँ शिक्षकहरू घाइते हुनुभएको छ । पत्रकार सविना कार्की गम्भीर घाइते हुनुभएको छ । यस्तो अवस्था किन सिर्जना भइरहेको छ ? सरकारले शिक्षकहरूका माग पूरा गर्नुको सट्टा किन दमन गरिरहेको छ यसको म भर्त्सना गर्न चाहन्छु, खेद प्रकट गर्न चाहन्छु ।’
साथै, उनले शिक्षा ऐनलाई परिवर्तन गर्नुपर्थ्यो, पाठ्यक्रम परिवर्तन गर्नुपर्थ्यो तर त्यो नभइरहेको बताए । उनले राज्यले नै ऐन बनाएर दिनुपर्ने कुरामा आज शिक्षकहरू हामीलाई ऐन देऊ भनेर माग्न आइरहेको सन्दर्भमा उनीहरूको मागलाई सम्बोधन गरेर जायज मागहरूलाई पुरा गरेर जानुको सट्टा सरकार मूकदर्शक बनिरहेको बताए ।
उनले भने, ‘संविधान निर्माणसँगै हामीले नयाँ ऐन बनाएर शिक्षालाई नयाँ दिशा दिनुपर्दथ्यो । आजको विकास, आजको देशको आवश्यकता, आजको टेक्नोलोजी प्रयोग गर्ने गरी शिक्षा ऐनलाई परिवर्तन गर्नुपर्थ्यो, पाठ्यक्रम परिवर्तन गर्नुपर्थ्यो तर त्यो भइरहेको छैन । आज पुराना ऐन र कानुनहरूले आज सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनमा बाधा अड्चन भइरहेको छ । राज्यले नै ऐन बनाएर दिनुपर्ने कुरामा आज शिक्षकहरू हामीलाई ऐन देऊ भनेर माग्न आइरहेको सन्दर्भमा उनीहरूको मागलाई सम्बोधन गरेर जायज मागहरूलाई पुरा गरेर जानुको सट्टा मूकदर्शक बनिरहेको छ ।’